केही खुकुलो पार्दै उपत्यकामा १० दिन थपियो निषेधाज्ञा

0
Shares

कोभिड­-१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौँ उपत्यकाको निषेधाज्ञा केही खुकुलो पार्दै १० दिनका लागि थपिएको छ ।

उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको आजको बैठकले केही खुकुलो पार्दै उक्त निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

यही जेठ २१ गते बिहान १ बजेदेखि ३१ गते राति १२ बजेसम्म थप गरिएको निषेधाज्ञाको आदेशमा किराना तथा खाद्यान्न पसल सञ्चालन गर्न पाइने उल्लेख छ । यसअघि पसल सञ्चालनमा रोक लगाइएको थियो ।

उपत्यकामा गत वैशाख १६ गतेदेखि आदेश जारी गरी अत्यावश्यक बाहेकका गतिविधिमा रोक लगाइँदै आइएको छ । यसपालि भने तरकारीलगायत किराना पसल, खाद्यान्न, तथा डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी मात्र) बिहान ९ बजेसम्मका लागि खुला गरिएको छ ।

अनलाइन बाहेकका शैक्षिक गतिविधिमा रोक लगाइएको छ । अत्यावश्यक सेवा दिने बाहेकका कार्यालयका सेवा स्थगन गरिएको छ । अत्यावश्यक उद्योग सञ्चालन तथा निर्माणका लागि आवासीय रुपमा श्रमिकलाई राखी स्वास्थ्य मापदण्डको पालना गरी काम गर्न सकिने छ । यसअघि उक्त कार्यमा समेत रोक लगाइएको थियो ।

यस अवधिमा सबै प्रकारका भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ । औषधि, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैन । सार्वजनिक एवं निजी सवारी साधन पनि सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्रै सञ्चालन हुनेछ ।

अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन खाना पकाउने ग्याँस, दूरसञ्चार इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन सरसफाइमा प्रयोग हुने साबुन स्यानिटाइजर, कुरियर तथा डाँक सेवा, प्रिन्ट तथा सरकारी छापाखानालगायतका ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ ।

यसैगरी खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन, खाना पकाउने ग्यास, दूरसञ्चार इन्टरनेट, भेटेरिनरी, प्रिन्ट तथा सरकारी छापाखाना, सरसफाइमा प्रयोग गरिने सामग्री ढुवानीमा व्यानर राखेर राति ९ देखि बिहान ४ बजेसम्म गाडी सञ्चालन गर्न पाइने छ । थोक तकारी बजारमा फुटकर विक्री गर्न नदिइने आदेशमा भनिएको छ ।

वााणिज्य बैँकको हकमा प्रधान कार्यालयसहित तीन शाखा कार्यालय र विकास बैँकको हकमा प्रधान कार्यालयसहित दुई शाखा कार्यालयलाई मात्रै सञ्चालनको अनुमति छ । त्यस्ता कार्यालय पनि आलोपालो गरी न्यूनतम जनशक्ति ९२० प्रतिशत० मात्र परिचालन गर्नुपर्ने छ । वित्त कम्पनीमा कर्पोरेट कार्यालय र धितोपत्र बोर्डमात्रै खुल्न पाइने छ ।

अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, राहदानी, प्रवेशाज्ञा हुनेलाई सिधै विमानस्थल जाने सवारी साधनको हकमा सहजीकरण गरिने भएको छ । विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै ती कार्य गर्दा सात जनाभन्दा बढी उपस्थित हुन नपाइने र एउटा मात्रै गाडीको प्रयोग गर्नुपर्ने आदेशमा भनिएको छ । नित्य पूजा बाहेकका धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ । मृत्यु संस्कारमा जान र आउनुपरेमा मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस, परिचयपत्र खुल्ने कागजातसहित प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ ।

विबामी वा कुरुवाको हकमा भर्ना कार्ड वा रिपोर्टको आधारमा दुई जना उपत्यकाभित्र जान पाइने तर अन्यत्र बिरामी भई जानुपर्ने भएमा भर्ना कार्ड वा रिपोर्ट कार्ड, परिचयपत्र खुल्ने कागजातसहित निवेदन दिनुपर्ने छ । सुरक्षा गार्डले पोशाक र परिचयपत्रको आधारमा कार्यस्थलमा आवतजावत गर्न पाउने छन् ।

सूचना विभागको पास भएका पत्रकार बाहेकको हकमा आवातजावतका लागि प्रशासन कार्यालयबाट पास बनाउनुपर्ने आदेशमा भनिएको छ । फुटपाथ, खुला ठाउँका व्यवसाय र कवाडी सङ्कलनमा रोक लगाइएको छ । आदेश पालना नगरेमा कोभिड­१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाही हुने जनाइएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०७८, बुधबार  १८ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।