
नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७७/७८ भित्रै ५० करोडको राफसाफ कोष बनाई अबिलम्व कार्यान्वयनमा ल्याउन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई निर्देशन दिएको छ ।
बोर्डले राफसाफ कोषमा हालसम्म नगन्य रकम जम्मा भई राफसाफ सुनिश्चितता (सेटलमेन्ट ग्यारेन्टी) हुने गरी कार्यान्वयनमा आउन नसक्दा समयमा नै लगानीकर्तालाई धितोपत्र बिक्री वापतको रकम भुक्तानी हुन नसकिरहेको बताएको छ । बढ्दो बजारमा महिनौंसम्म पनि लगानीकर्ताले धितोपत्र बिक्रीको रकम पाउन नसकेको समाचार प्रवाह भएपछि बोर्डले धितोपत्र बजार (स्टक एक्सचेञ्ज) लाई आर्थिक वर्ष २०७७/७८ भित्र ५० करोडको राफसाफ कोष बनाउन निर्देशन दिएको हो ।
यसैगरी आर्थिक वर्ष २०७८/७९ भित्र थप ३० करोड र आर्थिक वर्ष २०७९/८० भित्र थप २० करोड गरी कुल १ अर्ब रकमको कार्यान्वयन योग्य कोष स्थापना र सञ्चालन गर्न बोर्डले बजार सञ्चालक नेप्सेलाई निर्देशन दिएको हो ।
राफसाफ कोषमा धितोपत्र बजार (नेप्से), धितोपत्रको राफसाफ सेवा प्रदान गर्ने संस्था (सीडिएस एण्ड क्लियरिङ) र समान रुपमा सम्पूर्ण राफसाफ सदस्यहरु (धितोपत्र दलालहरु) को योगदान हुने गर्दछ । जसअनुसार राफसाफ कोषमा धितोपत्र बजारले समग्रमा कोषको ५० प्रतिशत, राफसाफ सेवा प्रदान गर्ने संस्थाले समग्रमा कोषको ३० प्रतिशत र राफसाफ सदस्यहरु (धितोपत्र दलालहरु) ले समग्रमा कोषको २० प्रतिशत रकम योगदान रहनेछ ।
उक्त रकमको अतिरिक्त कोषलाई जोखिममा आधारित हुने गरी सुदृढ बनाउन धितोपत्र बजार (कोष व्यवस्थापक) ले धितोपत्र दलालहरुको पछिल्लो महिनाको औसत दैनिक कारोबार रकमको १ प्रतिशत रकम चालु महिनाको १५ गतेभित्र थप गर्न लगाई गतिशील योगदानको रुपमा कोषमा जम्मा गर्न बोर्डको निर्देशन छ । यसरी थप रकम निर्धारण गर्दा मासिक रुपमा पुनरावलोकन गर्ने र यसरी थप गर्ने रकम पछिल्लो महिनाको गतिशील योगदान भन्दा धेरै भएमा फरक रकम मात्र राफसाफ कोषमा धितोपत्र दलालले थप योगदान गर्नुपर्ने बोर्डले जनाएको छ ।
बोर्डका सह प्रवक्ता रुपेश केसीले सेटलमेन्ट ग्लारेन्टी फण्डको कार्यान्वयन पश्चात धितोपत्र कारोवारको रकम समयमै राफसाफ तथा फछ्र्यौट हुने सुनिश्चितता भई उक्त कार्य थप प्रभावकारी रुपमा यथासमयमा नै सम्पन्न हुने बताए । धितोपत्र कारोवारमा निहित प्रणलीगत जोखिम न्यूनीकरण हुने, लगानीकर्ताले समयमा नै धितोपत्र बिक्री वापतको रकम प्राप्त गर्ने र धितोपत्र कारोवार थप गतिशील हुने उनले बताए ।
धितोपत्रको दोश्रो बजार कारोवार दिनानुदिन वृद्धि भइरहेको सन्दर्भमा यसमा निहित प्रणालीगत जोखिमलाई न्यूनीकरण गर्न आवश्यक भएकोले धितोपत्र कारोवारलाई समयमा नै राफसाफ गराई बजारलाई व्यवस्थित र अनुशासित राख्न विद्यमान राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाउन आवश्यक देखिएको बोर्डले जनाएको छ ।
धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २७ को व्यवस्था बमोजिम कोषको स्थापना भएको थियो । राफसाफ कोषको व्यवस्थापन सम्बन्धमा अन्तर्राष्ट्रिय प्रचलन अनुरुप हुने गरी धितोपत्र बजारले कोषको संचालक समितिको रुपमा र राफसाफ सेवा प्रदान गर्ने संस्थाले कोष व्यवस्थापकको रुपमा कार्य गर्ने गर्दछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया