थपिएको निषेधाज्ञामा पनि उपत्यकामा बैंकका सीमित शाखाबाट मात्र सेवा, खाद्य पसल खुले

0
Shares

कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौँ उपत्यकाको निषेधाज्ञा आजदेखि १० दिन लम्ब्याउने निर्णय गरेको थियो ।

निषेधाज्ञाका समयमा काठमाण्डौंमा वाणिज्य बैंकको हकमा प्रधान कार्यालय सहित तीन शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालय सहित दुईवटा शाखा कार्यालयलाई मात्रै सञ्चालनको अनुमति दिएको छ ।

त्यस्ता कार्यालय पनि आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत) मात्र परिचालन गर्नुपर्ने छ । वित्त कम्पनीमा कर्पोरेट कार्यालय र धितोपत्र बोर्डमात्रै खुल्न पाइने छ ।

कोभिड-१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै लगाइएको निषेधाज्ञाको समयमा थप जोखिम भएको र भीडभाड कम नभएको जस्ता गुनासोपछि राष्ट्र बैंकले जेठ १० गते नै इजाजतप्राप्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थालाई सीमित शाखाबाट आलोपालो सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो ।

जसअनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा लगाइएको निषेधाज्ञाको समयमा वाणिज्य बैंकले काठमाडौँमा तीन, विकास बैंकले दुई र फाइनान्सले एउटा मात्र शाखा खोलेर सेवा दिनेछन् । ललितपुरमा वाणिज्य बैंकले दुई, भक्तपुरमा एक तथा विकास बैंकहरू र फाइनान्स कम्पनीले ललितपुर र भक्तपुरमा एक।एक शाखा खोलेर सेवा प्रवाह गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । अत्यावश्यक सेवाका लागि बन्द रहेको शाखाको सम्पर्क व्यक्तिको नम्बर र सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा र शाखा खुला रहने समयको जानकारी समेटिएको सूचना बैंकले वेभसाइटमा दैनिक प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ ।

उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित बुधबारको बैठकले आजदेखि लागू हुने गरी निषेधाज्ञा  केही खुकुलो पार्दै खाद्य पसल खोल्न पाइने गरी १० दिन लम्ब्याउने निर्णय गरेको थियो ।  जेठ ३१ गते राति १२ बजेसम्म थप गरिएको निषेधको आदेशमा किराना तथा खाद्यान्न पसल सञ्चालन गर्न पाइने उल्लेख छ । यसअघि पसल सञ्चालनमा रोक लगाइएको थियो ।

यसपटक उद्योगलाई पनि आवासीयरूपमा मजदुर राखेर काम गर्न खुला गरिएको छ भने रातिको समयमा ढुवानी पनि खुला गरिएको छ । उपत्यकामा वैशाख १६ गतेदेखि आदेश जारी गरी अत्यावश्यक बाहेकका गतिविधिमा रोक लगाइँदै आइएको छ ।

गर्न पाइने गतिविधि

यसपालि भने तरकारी लगायत किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी मात्र) बिहान ९ बजेसम्मका लागि खुला गरिएको छ । अत्यावश्यक उद्योग सञ्चालन तथा निर्माणका लागि आवासीयरूपमा श्रमिकलाई राखेर स्वास्थ्य मापदण्डको पालना गरी काम गर्न सकिने छ ।

यसअघि उक्त कार्यमा समेत रोक लगाइएको थियो । औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि घरबाहिर जान पाइने तर स्वास्थ्यका सबै मापदण्ड प्रयोग गर्नुपर्नेछ ।

निषेधाज्ञाका बेला अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा दुईजना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्रै सञ्चालन हुनेछ ।

अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन खाना पकाउने ग्यास, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेशन, फोहरमैला व्यवस्थापन, सरसफाइमा प्रयोग हुने साबुन स्यानिटाइजर, कुरियर तथा डाँक सेवा, प्रिन्ट तथा सरकारी छापाखाना लगायत ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ ।

खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन, खाना पकाउने ग्यास, दूरसञ्चार इन्टरनेट, भेटेरेनरी, प्रिन्ट तथा सरकारी छापाखाना, सरसफाइमा प्रयोग गरिने सामग्री ढुवानीका सवारी साधनमा ब्यानर राखेर राति ९ देखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, पासपोर्ट, भिसा हुनेलाई सिधैँ विमानस्थल जाने सवारी साधनको हकमा सहजीकरण गरिने छ । घरमै विवाह, व्रतबन्ध गर्दा सात जनामात्रै उपस्थित हुन पाइने र आवागमनमा एउटा मात्रै गाडीको प्रयोग गर्नुपर्ने आदेशमा भनिएको छ ।

भीडभाड नहुने गरी नित्यपूजाका गतिविधिमात्रै गर्न पाइने छ । मृत्यु संस्कारमा जान र आउनुपरेमा मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिश, परिचयपत्र खुल्ने कागजातसहित प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ ।

बिरामी वा कुरुवाको हकमा भर्ना कार्ड वा रिपोर्टको आधारमा उपत्यकाभित्र दुई जना हिँड्न पाइने तर अन्यत्र बिरामी भई जानुपर्ने भएमा भर्ना कार्ड वा रिपोर्ट कार्ड, परिचयपत्र खुल्ने कागजातसहित निवेदन दिनुपर्नेछ । सुरक्षा गार्डले पोशाक र परिचयपत्रका आधारमा कार्यस्थलमा आवतजावत गर्न पाउनेछन् । सूचना विभागको पास भएका पत्रकार हिँड्न पाउने र त्यसबाहेकको हकमा आवातजावतका लागि प्रशासन कार्यालयबाट पास बनाउनुपर्ने आदेशमा भनिएको छ ।

गर्न नपाइने गतिविधि

अनलाइन बाहेकका शैक्षिक गतिविधिमा रोक लगाइएको छ । अत्यावश्यक सेवा दिने बाहेकका कार्यालयका सेवा स्थगन गरिएको छ । उक्त अवधिमा सबै प्रकारका भीडभाड हुने गतिविधिमा रोक लगाइएको छ । औषधि, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैन ।

सार्वजनिक एवं निजी सवारी साधन पनि सञ्चालन गर्न पाइने छैन । थोक तरकारी बजारमा फुटकर बिक्री गर्न नपाइने आदेशमा उल्लेख छ । विवाह, व्रतबन्धजस्ता कार्य होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ ।
फुटपाथ, खुला ठाउँका व्यवसाय र कवाडी सङ्कलनमा रोक लगाइएको छ ।

आदेश पालना नगरेमा कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाही हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०७८, शुक्रबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।