बुद्ध एयरले थाल्यो तुम्लिङटार विमानस्थलमा परीक्षण उडान, शुक्रबार ७२ सिटे जहाजबाट भयो थालनी

0
Shares

निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरको ७२ सिट क्षमताको एटीआर–७२ जहाजले तुम्लिङटार विमानस्थल परीक्षण उडान गरेको छ ।

यसअघि एटीआर–४२ र बिचक्राफ्ट जहाजबाट उडान गर्दै आएको बुद्धले शुक्रबार एटीआर–७२ जहाजबाट उक्त विमानस्थलमा परीक्षण उडान गरेको हो ।

बुद्धले नागरिक उड्डयन प्राधिकरण (क्यान) का पदाधिकारी, एयरका अपरेशन तथा टेक्निकल टिमले परीक्षण उडान गरेको जनाइएको छ ।

बहत्तर सिटे जहाजबाट उक्त विमानस्थलमा उडान गर्दा जहाजको सञ्चालन खर्च कम हुने र बढी यात्रु बोक्दा हवाई भाडामा कमी आउने अपेक्षा गरिएको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए ।

उनका अनुसार यसअघि पाँच हजार ८०० भाडा रहेको तुम्लिङटारमा ठूलो जहाजबाट उडान शुरु भएसँगै तीन हजार ५०० सम्म हुने अनुमान गरिएको छ । तुम्लिङबाटर विमानस्थल एटीआर–७२ जहाजको सफल उडान–अवतरण भएको पहाडी क्षेत्रको पहिलो विमानस्थल रहेको जनाइएको छ ।

हाल तुम्लिङटार विमानस्थलमा बुद्धले ४२ सिट क्षमताको एटीआर जहाज र यती एयरलाइन्सले २५ सिट क्षमताको जेटस्ट्रिम जहाजबाट उडान गर्दै आएका छन् ।

कोरोना महामारी सकिएर नियमित उडान शुरु भएसँगै उक्त विमानस्थलमा ७२ सिट क्षमताका जहाजबाट उडान शुरु हुने बुद्धले जनाएको छ ।

नौ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र दुई वटा बिचक्राफ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक १०० उडान गर्दै आएको छ ।

बुद्धले हाल भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । काठमाडौँ, पोखराबाट माउन्टेन फ्लाइट गरिरहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०७८, शुक्रबार  १६ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।