अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घट्यो, भाडामा कमी आउने अपेक्षा  

0
Shares

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएको छ । निगमले आइतबार राति १२ः०० बजेदेखि नै लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो ।
 
आइतबार बसेको निगम सञ्चालक समितिले कोभिडको अवस्था रहुन्जेल अन्तर्राष्ट्रिय हवाई इन्धनमा बढीमा १५ प्रतिशतसम्म नाफा राखि मूल्य निर्धारण गर्ने नीति पारित गरेको हो । यसअघि अमेरिकी डलर ८९३ प्रतिकिलोलिटर रहेको अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७१५ कायम गरिएको छ । निगमले एकैपटक प्रतिकिलोलिटर अमेरिकी डलर १७८ ले मूल्य घटाएको हो ।
 
आइतबारसम्म निगमलाई अन्तर्राष्ट्रिय हवाई इन्धनमा ४० प्रतिशत नाफा रहेको थियो । यसअघि निगमलाई अन्तर्राष्ट्रिय हवाई इन्धनमा ७० प्रतिशतसम्म नाफा रहेको निगमका प्रवक्ता वितीतमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार कोरोनाको एक वर्षको अवधिमा हवाई इन्धनबाट निगमलाई पाक्षिक (१५ दिनको अवधिमा0 रुपमा एक करोड ५० लाख नाफा भएको छ ।
 
निगमलाई खाना पकाउने एलपी ग्यासबाट पाक्षिक रुपमा अनुमानित रुपमा ५० करोड नोक्सान रहेको छ । एपली ग्यासको नोक्सानी निगमले हवाई इन्धनबाट परिपूर्ति गर्दै आएको थियो । निगमको इन्धन मूल्य निर्धारण नीतिअनुसार एलपी ग्यासको नोक्सानीलाई अन्तर्राष्ट्रिय हवाई इन्धनको नाफाबाट परिपूर्ति गर्ने व्यवस्था रहेको छ।
 
अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा कमी आएसँगै हवाई भाडामा कमी आउने अपेक्षा गरिएको छ । मूल्यमा कमी आएसँगै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमलाई हवाई इन्धनबाट मात्र वार्षिक रुपमा ७० करोडभन्दा बढी रकम बचत हुने अनुमान गरिएको छ ।
 
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
 

प्रकाशित मिति: २४ जेष्ठ २०७८, सोमबार  १२ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।