
कोभिड संक्रमणका कारण जारी निषेधाज्ञाका कारण सुनको आयात र ब्यापार प्रभावित बन्दा सुनचाँदी व्यवसायीहरुले दैनिक सात करोड बढीको घाटा ब्यहोर्नुपरेको छ ।
सरकारले व्यवसायीको माग बमोजिम सुनको कोटा बढाएर २० किलो पुर्याएपनि ब्यापार ठप्प हुँदा जेठ मसान्तसम्ममा मात्र व्यवसायीहरुले ३ अर्बभन्दा बढीको घाटा व्यहोर्नुपरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्यले अहिले नेपालमा सुनको मूल्य निर्धारण भइरहे पनि सुनचाँदीको आयात र व्यापार भने ठप्प रहेको बताए ।
महासंघका अध्यक्ष शाक्यका अनुसार कोरोना र लकडाउनले आयात र व्यापार दुबै ठप्प हुँदा दैनिक राजश्व वापत मात्र १ करोड ६० लाख बढी घाटा हुने र देशभरका सुनचाँदी व्यवसायीहरुको हिसाब गर्ने हो भने ७ करोडभन्दा बढी नोक्सानी हुन्छ ।
गत वर्ष कोरोनाका कारण सुरु भएसम्गै नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा घटाएर प्रतिदिन १० किलोमा सीमित भएको थियो । सुनको आयात नै थोरै हुँदा नेपाली बजारमा सुनको अभाव गहिरियो । आवश्यकता अनुसार कच्चा सुन सहज रुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने जोखिम बढेपछि व्यवसायीके माग बमोजिम नेपाल राष्ट्र बैंकले व्यवसायीको माग अनुसार गत चैत्रमा आयात कोटा बढाएर दैनिक २० किलो बनाएको थियो ।
कोटा वृद्धि डेढ महिना नबित्दै निषेधाज्ञा जारी भएपछि व्यवसायमा त्यसको असर परेको छ । सरकाले बैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा पटक पटक थप गरी असार ७ गतेसम्म पुर्याइएको अवस्था छ ।
आइतबार मात्र उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले विद्यमान व्यवस्थामा केही खुलुको गर्दै असार ७ गतेसम्म उपत्यकामा निषेधाज्ञा लब्याउने निर्णय गरेका छन् ।
महासंघका अनुसार निष्नेधाज्ञापछि अहिले न त सुनको आयात छ न त व्यापार नै । कोरोनाका कारण व्यवसाय गर्ने वातावरण नै ठप्प भएपनि सार्वजनिक विदाको दिन बाहेक औपचारिक रुपमा मूल्य निर्धारण भने भइरहेको छ । कोरोना भाइरस संक्रमण रोक्न गत वर्ष भएको लकडाउनमा अरबौ नोक्सानी व्यहोरेको सुनचाँदी व्यवसाय व्यवसाय बीचमा खुला भएपनि अझै शिथिल नै रहेको व्यवसायी बताउँछन् ।
नेपालमा निषेधाज्ञा सुरुभए लगतै सुनको आयात रोकिएको महासंघले जनाएको छ । विवाहको लगनको समयमा नै व्यवसायमा तालाचाबी लगाउने रहर नहुँदा नहुँदै पनि निषेधाज्ञाका कारण सटरमा ताल्चा ठोकेर नोक्सानी व्यहोर्नुपरेपछि व्यवसायी चिन्तित छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया