अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि जोड्दै समाजिक सुरक्षा कोष

0
Shares

निजी क्षेत्रका श्रमिकलाई लक्षित गरी सरकारले सुरुवात गरेको सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारलाई समेत समेट्ने भएको छ ।

कोषले अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि कोषमा जोड्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । २०७६ सालदेखि सुरु भएको सामाजिक सुरक्षा कोषले पहिलो चरणमा औपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराउन शुरु गरेको छ ।

त्यस्तै, दोस्रो चरणमा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारलाई पनि कोषमा समेट्न कोषले आवश्यक रणनीति तयार पारेको कोषका उप निर्देशक दिनेश कुमार कोइरालाले बताए ।

अनौपचारिक क्षेत्र ठूलो भएकाले यस क्षेत्रका श्रमिकलाई जोड्दा बृहत छलफलको आवश्यकता रहेको कोषले जनाएको छ । अनौपचारिक क्षेत्रलाई कोषमा जोड्न गत वर्षदेखि नै लागि परे आगामी आवमा भने यो कार्यन्वयनमा ल्याईने कोषले जनाएको छ ।

कोषले प्रथम चरणमा कृषि, यातायात, निर्माण क्षेत्रका श्रमिकलाई कोषमा जोड्ने योजना बनाएको छ । कोषले योजना सञ्चालनको लागि स्थानियतहसँग समेत छलफल गरी सम्झौता गर्नेछ । स्थानिय तह आफै वा स्थानिय तहमा रहेका बैंक तथा अन्य वित्तीय संस्थाहरु मार्फत योगदान रकम संकलनको व्यवस्था गरिने कोषले तयार पारेको कार्यविधिको मस्यौदामा उल्लेख गरिएको छ ।

कार्यविधिअनुसार कोषले सहकारी संस्थाहरुलाई कलेक्सन सेन्टर तोक्न सक्ने छ । बार्षिक एकमुष्ट, अर्ध वार्षिक, त्रैमासिक वा मासिक रुपमा योगदान रकम भुक्तानी गर्नुपर्नेछ । अग्रिम रुपम बार्षिक एकमुष्ट योगदान गर्ने श्रमिकलाई निश्चित प्रतिशत छुटको व्यवस्था गर्न सकिने कोषले जनाएको छ ।

कोषले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारका लागि सामाजिक बीमा सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना गरी (दुई खालका) योजना सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

सामाजिक बीमा योजनाअन्र्तगत कोषले स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा असक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजना राखेको छ । त्यस्तै, वृद्धावस्था सुरक्षा योजनाअन्र्तगत बचत तथा निवृतीभरण योजना समावेश गरेको छ ।

श्रमिकबाट प्राप्त योगदान रकममध्ये सामाजिक योजनामा १० प्रतिशत, वृद्धावस्था सुरक्षा योजनामा ९० प्रतिशत (बचत योजनामा ३०, निवृतीभरण योजनामा ६० प्रतिशत) जम्मा हुनेछ ।

तीन सय रुपैयाँ तिरेर सामाजिक सुरक्षा बीमामा सहभागी हुन सक्ने

अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकले ३०० रुपैयाँ भुक्तानी गरी सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको सामाजिक सुरक्षा बीमा योजना सहभागी हुन पाउनेछन् ।

कोषले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सुविधा छनौटको समेत सुविधा दिएको छ । यस क्षेत्रमा कार्यरत श्रमिकले दुई वटा सुरक्षा योजनामध्ये कुनै एक मात्रै पनि छनौट गर्न पाउनेछन् ।

सामाजिक सुरक्षा बीमा सुविधा मात्रै लिनको लागि ३०० रुपैयाँ भुक्तानी गरे पुग्नेछ । त्यसमा सरकारले २०० रुपैयाँ थप गर्नेछ ।
त्यस्तै, श्रमिकले आफनो मासिक आम्दानी स्वघोषणा गरी त्यसको २० प्रतिशत रकम भुक्तानी गरी वृद्धावस्था सुविधा योजना सहभागी हुन सक्नेछन् ।

कोषले समान्यतया असंगठित तथा आयकरका दायर भन्दा बाहिर रहेका र श्रम कानुन समेत आकर्षित नभएको रोजगारी गर्ने व्यक्तिलाई अनौपचारिक श्रमिक मानेको छ । यसले फर्मको रुपमा दर्ता भई सञ्चालनमा रहेको बाहेक अन्य कृषिजन्य रोजगारी, ज्यालादारी निर्माण मजदुर, घरेलु श्रमिक, संघ वा समिति मातहत कार्यरत यातायात मजदुर, लगायत औपचारिक र स्वरोजगारको परिभाषा भित्र नपरेको सम्पूर्ण रोजगारीलाई जनाउँछ ।

स्वरोजगार क्षेत्रका श्रमिकको हकमा भने अनिवार्य रुपमा दुवै योजनामा सहभागी हुनुपर्नेछ । स्वरोजगार व्यक्तिले स्वघोषणा गरेको आम्दानीको ३१ प्रतिशत रकम मासिक रुपमा कोषमा जम्मा गर्नुपर्नेछ । नेपाल सरकारले औद्योगिक क्षेत्रको श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि गरेको अवस्थामा वृद्धि भएको अनुपातमा योगदान रकम समेत वृद्धि हुनेछ । साथै आम्दानी स्वघोषणा गर्दा नेपाल सरकारले समय समयमा औद्योगिक क्षेत्रको लागि तोकेको न्यूनत्तम पारिश्रमिकमा नघट्ने गरी बढीमा ३ गुणासम्म गर्न सक्नेछन् ।

ज्याला वा निश्चित पारिश्रमिकको निम्ति नभई स्वआर्जनका लागि कार्य गर्ने व्यक्तिलाई स्वरोजगार भनि परिभाषित गरिएको छ । यस्ता व्यक्ति कुनै न कुनै सरकारी निकायमा व्यवसाय दर्ता गरी वा नगरी सञ्चालक, व्यवस्थापक, वा प्रोपाईटरको रुपमा कार्यरत हुन्छन् । यसले किराना व्यवसायी, आफ्नै फर्म खोली काम गर्ने डक्टर, कन्सल्टेन्ट, चार्टर अकाउन्टेन, व्यवसायिक कम्पनीका सञ्चालक, बिमा अभिकर्ता, ब्रोकर, शेयर बजारका लगानीकर्ता, फ्रिलान्सर समेतलाई जनाउँछ ।

सात लाखसम्मको दुर्घटना उपचार सुविधा

अनौपचारिक क्षेत्रका श्रमिक वा स्वरोजगारले दुर्घटना भएको अवस्थामा उपचार बापत ७ लाखसम्मको सुविधा पाउनेछन् । कोषले सञ्चालन गरेको सामाजिक बीमा योजना अन्र्तगतको दुर्घटना तथा अशक्तता सुरक्षा योजनाले श्रमिकलाई यस्तो सुविधा दिनेछ ।

प्रति दुर्घटना सो रकम बराबरको उपचार सुविधा पाउने कोषले मस्यौदामा उल्लेख गरेको छ भने उक्त योजना श्रमिकले योगदान रकम भुक्तानी शुरु गरेकै मितिबाट लागू हुनेछ ।

कोषले उपलब्ध गराएको कार्यवधिको मस्यौदा अनुसार श्रमिकले योगदान रकम भुक्तानी शुरु गरेको तीन महिना पछि स्वास्थ्य सुरक्षा तथा मातृत्व सुरक्षा योजना सुविधा उपभोग गर्न पाउँनेछन् । यस योजना बापत श्रमिकलाई प्रतिवर्ष १ लाखसम्मको स्वास्थ्य उपचार सुविधा प्राप्त हुनेछ ।

श्रमिक वा श्रमिकको श्रीमतीको प्रसुती बापत १ लाख रुपैयाँसम्मको उपचार सुविधा प्राप्त हुनेछ । साथै शिशुको ३ महिनासम्मको उपचार तथा औद्योगिक क्षेत्रको न्यूनतम पारिश्रमिक बराबरको स्याहार भत्ता प्रदान गरिनेछ ।

आश्रित परिवार सुरक्षा योजनाअन्र्तगत श्रमिकको मृत्यू भएमा आश्रित परिवारले औसत मासिक आधारभूत पारिश्रमिकको ४० प्रतिशत मासिक पेन्सन पाउनेछन् । त्यस्तै वृद्धावस्था सुरक्षा योजनामा सहभागी नभएका र समाजिक बीमा सुरक्षा योजनामा मात्रै सहभागी भएका श्रमिकले भने यस योजना अन्र्तगत औद्योगिक क्षेत्रको न्यूनतम पारिश्रमिकको ४० प्रतिशत मासिक पेन्सन पाउनेछन् ।

त्यस्तै, मृतक श्रमिकको १८ वर्ष नकटेका सन्ततीले पारिश्रमिकको २० प्रतिशत मासिक शैक्षिक वृति पाउनेछन् । अन्तिम संस्कार खर्चका लागि २५ हजार रुपैयाँ पाउनेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ असार २०७८, आइतबार  १७ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।