खाद्य र साल्ट ट्रेडिङबाट उपलब्ध हुँदै आएको सहुलियतको खाद्यान्न बिक्री वितरण रोकियो

0
Shares

सरकारी स्वामित्वमा सञ्चालित दुई संस्था खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले निषेधाज्ञाका लागि खाद्यान्नमा उपभोक्ताहरुलाई दिँदै आएको २० प्रतिशत छुट बन्द गरेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मङ्गलबारदेखि र साल्ट ट्रेडिङले बुधबारदेखि खाद्यान्नमा उपभोक्ताहरुलाई दिँदै आएको २० प्रतिशत छुट बन्द गरेका हुन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्लासहित देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो भएसँगै २० प्रतिशत छुट रोकिएको खाद्य कम्पनीले जनाएको छ ।

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले गत वैशाख २० गतेदेखि देशभर रहेका ४८ वटा बिक्री काउन्टरबाट दिइएको छुट मङ्गलबारदेखि रोकिएको जानकारी दिइन् ।

उनका अनुसार कम्पनीले करीब डेढ महिनाको अवधिमा एक करोड ३८ लाखभन्दा बढीको छुट दिइएको छ । करीब ६ करोडभन्दा बढीको कारोबार हुँदा उक्त रकम छुट दिइएको हो ।

छुट अवधिमा १२ हजार ८८ क्विन्टल चामल बिक्री गरिएको छ । यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनले समेत बुधबारदेखि छुट रोकिएको जनाएको छ । दुई कम्पनीले छुट दिँदा उपभोक्ताको भीड बढेको भन्दै गत वैशाख २५ गतेदेखि बिहान ७ देखि ९ बजेसम्म मात्र खाद्यान्नमा छुट दिएका थिए ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते आर्थिक वर्ष २०७८।७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाट खाद्य पदार्थ खरीद गर्दा २० प्रतिशतसम्म छुट पाइने बताएका थिए ।

साल्ट ट्रेनिङ कर्पोरेशनले आफ्नो उत्पादनबाट पाँचजनाको परिवारलाई एक महिनाका लागि पुग्ने खाद्य पदार्थ सरकारले तोकेको २० प्रतिशत छुट दिएको थियो ।

कम्पनीले दुई किलो पीठो, चिनी, नून, एक लिटर तेल र एक सिलिण्डर ग्यासमा छुट दिनेछ । छुटपछि अब पीठो ४४, चिनी ६३, नुन १६, तेल प्रतिलिटर १८८ र ग्यास प्रतिसिलिण्डर रु एक हजार १२० मा बिक्री गरेको थियो ।

यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई किलो कर्णालीको सिमी र ३० किलो चामल (कम्पनीसँग रहेको बासमती र मार्सीबाहेकको चामल) मा २० प्रतिशत छुट दिएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ९ असार २०७८, बुधबार  १७ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।