
नेपालमा चालु आर्थिक वर्ष २०७७।७८ को ११ महिनामा १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख २४ हजार बराबरको वस्तु तथा सेवा आयात भएको छ । जुन गतवर्ष भन्दा २५.६७ प्रतिशतले वृद्धि भएको हो ।
भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७६।७७ को जेठ महिनासम्ममा नेपालले ११ खर्ब ८१ करोड ३४ लाख बराबरको वस्तु तथा सेवा आयात भएको थियो ।
गत वर्षको तुलनामा चालु आवमा निर्यात पनि ३७.७८ प्रतिशतले निर्यात बढेको छ । चालु आवको ११ महिनामा नेपालले १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको विभागले जनाएको छ । गत आवको जेठमसान्तसम्म नेपालले ८८ अर्ब ३१ लाख रुपैयाँ बराबरको निर्यात गरेको थियो ।
विभागको तथ्यांकअनुसार ११ महिनासम्मको अवधिमा नेपालको वैदेशिक व्यापार घाटा २४.६१ प्रतिशतले बढेको छ । ११ महिनाको अवधिसम्ममा वैदेशिक व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख ६५ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा नेपालले १० खर्ब १२ अर्ब ८१ करोड ३ लाख १० हजार रुपैयाँ वैदेशिक व्यापार घाटा वेहोरेको थियो ।
यस अवधिसम्ममा नेपालले १५ खर्ब ४ अर्ब ६१ करोड ८८ लाख ८३ हजार रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत आवको जेठ मसान्तसम्ममा नेपालले ११ खर्ब ८८ अर्ब ८१ करोड ६५ लाख ३० हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।
जेठसम्ममा कुल वैदेशिक ब्यापारमा निर्यातको हिस्सा ८.०६ प्रतिशत मात्र छ भने आयातको हिस्सा ९१.९४ प्रतिशत छ । यस अवधिमा डिजेलको आयात सबैभन्दा धेरै ७९ अर्ब ४५ करोड रुपैयाँको आयात भएको छ । डिजेलपछि फलाम तथा स्टिलमा अर्धनिर्मित सामानहरु, सोयाविन तेल र इलोक्ट्रोनिक सामाग्रीहरुको आयात पनि उच्च रहेको छ ।
निर्यात तर्फ सोयाविन तेलको निर्यात सबैभन्दा धेरै ४२ अर्ब ३४ करोड ७३ लाख रुपैयाँ रहेको छ । अलैची, कार्पेट, जनावरको रौंबाट बन्ने कपडा आदीको निर्यात बढी भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया