राजस्व अनुसन्धान विभागले अठार करोड राजश्व चुहावट आरोपमा दुई भारतीय नागरिक विरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको छ ।
विभागले सिंहपुर, रक्सौल, पूर्वी चम्पारण, भारत स्थायी ठेगाना भई वीरगञ्ज बस्दै आएका अशोक कुमार सिन्हा र निवेदिका सिन्हा विरुद्द बुधबार उच्च अदालत जनकपुर (अस्थायी इजलास वीरगञ्ज) मा मुद्दा दर्ता गरेको हो ।
भन्सार चोरी पैठारी गरी राजश्व चुहावट कार्यमा संलग्न रहेको अभियोगमा विभागले उनीहरुबाट १८ करोड ६५ लाख रुपैयाँ विगो असुल गरी निजहरुलाई जरिवाना र कैद मागदाबी लिई मुद्दा दर्ता गरेको छ ।
पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ५ रेशमकोठी स्थित गणेश अपार्टमेन्टको तेस्रो तल्लाको फ्लाट नं. ३०३ खरीद गरी बसोबास गर्ने निवेदिका सिन्हा र निजको बुबा भारतीय नागरिक अशोक कुमार सिन्हाले २२ हजार ९५७ दशमलव ४८ ग्राम सुन र १ हजार ७८ ग्राम चाँदीका गरगहना अवैध रुपमा भन्सार चोरी पैठारी गरी लुकाइ छिपाई भण्डारण गरी राजश्व चुहावट गरेको पाइएको विभाले जनाएको छ ।
प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख) र (झ) बमोजिम कसुर गरी राजस्व चुहावट गरेको कसूर स्थापित हुन आएकोले निजहरुलाई उल्लिखित कसूर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) बमोजिम जरिवाना, दफा २३ (१) (घ) बमोजिम कैद सजाय र बरामद भएको सुन/चाँदी सोही ऐनको दफा ३३ (१) बमोजिम जफत हुन मागदाबी लिई मुद्दा दायर गरिएको विभाले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया