
नेपालमा चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा साढे २१ अर्ब रुपैयाँ भन्दा बढीको सुन आयात भएको छ । विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमणका बीच गत आर्थिक वर्षभन्दा यस वर्ष बढी समय लकडाउन भएपनि सुनको आयात भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्यका अनुसार कोभिड कारण सरकारले गत आर्थिक वर्षमा दैनिक सुनको कोटा घटाएर १० किलोग्रामा झारेको थियो । तर चालु आवको सुरुवातमा कोभिड संक्रमणदर घट्दै गएपछि सरकारले सुनको कोटा २० केजीसम्म पुर्याउँदा आयात बढेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार २०७८ जेठ मसान्तसम्ममा २१ अर्ब ६० करोड ८३ लाख ७८ हजार रुपैयाँ बराबरको सुन आयात भएको हो । जुन वजनको रुपमा हेर्दा ३ हजार १८ केजी हुन आउँछ ।
अघिल्लो आर्थिक वर्ष २०७६।७७ को एघार महिनाको तुलनामा चालु आर्थिक वर्ष ७ अर्ब ६० करोड ७९ लाख २८ हजार रुपैयाँ बढीको सुन आयात भएको तथ्यांक छ । गत आर्थिक वर्ष २०७६/७७ को ११ महिनामा १३ अर्ब ४६ करोड ४ लाख ५० हजार रुपैयाँ बराबरको २ हजार ४०० केजी सुन आयात भएको थियो ।
गत आर्थिक वर्षको ११ महिनाको तुलनामा ६१८ किलोग्राम बढी सुन भित्रिँदा सरकारले प्राप्त गर्ने राजश्व एक अर्ब धेरैले बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा सुन आयतबाट मात्रै सरकारले २ अर्ब ५६ करोड ५३ लाख ४ हजार राजस्व प्राप्त गरेको छ । गत आर्थिक वर्ष २०७६।७७ को ११ महिनामा सरकारले सुन आयातबाट १ अर्ब ५० करोड ७५ लाख ७८ हजार रुपैयाँ राजस्व प्राप्त गरेको थियो ।
गत आर्थिक वर्षको ११ महिनामा सरकारले प्राप्त गरेको राजश्वको तुलनामा चालु आवको यसै अवधिमा १ अर्ब ५ करोड ७७ लाख २६ हजार रुपैयाँ धेरै राजस्व प्राप्त गरेको हो । गत वर्षको तुलनामा यस आवमा सुनको कोटा बढेपछि आयात र राजश्व पनि बढेको हो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य र राष्ट्र बैंकको विनिमय दरका आधारमा सुनको मूल्य निर्धारण गरिँदै आइरहेको महासंघका अध्यक्ष शाक्य बताउँछन् । उनका अनुसार अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि पर्ने गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २०७७ जेठमा सुनको मूल्य प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । विसं २०७८ जेठमा आइपुग्दा सुनको मूल्य बढेर प्रतितोला ९३ हजार २०० रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा सुनको मूल्य तोलाको ३ हजार ६०० रुपैयाँले बढ्दा पनि सरकारले प्राप्त गर्ने राजश्वमा वृद्धि भएको हो ।
हाल वाणिज्य बैंकहरु मार्फत सुन आयात हुँदा प्रतिकेजी ८ लाख ५० हजार रुपैयाँ राजश्व तिर्नुपर्छ । व्यक्तिगत रुपमा भने यस्तो दश दश लाख रहेको छ ।
विदेशमा काम गरेर फर्किने नेपाली कामदारले १०० ग्रामसम्म काँचो सुन ल्याउन पाउँछन् । त्यसका लागि कर तिर्नुपर्छ । काँचो सुनको हकमा पहिलो ५० ग्रामसम्म प्रतिदशग्राम ९ हजार ५०० रुपैयाँ र ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्म प्रतिदशग्राम १० हजार ५०० रुपैयाँ तिर्नुपर्छ ।
विदेशबाट फर्कदाँ ५० ग्रामसम्मको गहनामा कुनैपनि महसुन तिर्नुपर्देन भने ५० ग्रामदेखि बढी थप १०० ग्रामसम्मको गहनामा प्रतिदशग्राम १० हजार ५०० रुपैयाँ र १५० ग्रामदेखि २५० ग्रामसम्म प्रतिदशग्राम १२ हजार रुपैयाँ महसुल तिर्नुपर्छ । एक सय ग्रामभन्दा बढी सुन ल्याएमा जफत हुन्छ । ठूलो परिमाणमा सुनको गहना लगाएर आउँदा पनि जफत गरिन्छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया