लघुवित्त कम्पनीको शेयरमा पुनः फर्किए लगानीकर्ता

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई शेयरमा अल्पकालीन लगानी गर्न बन्देज लगाएपछि घट्न थालेको लघुवित्त कम्पनीहरुको शेयरमूल्य सोमबारदेखि बढ्न थालेको छ ।

सोमबार कारोबारको एक घण्टा अवधिमा शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीभित्र ७ वटा कम्पनी लघुवित्तका परेका छन् । यस अवधिमा सामुदायिक, इन्फिनिटी, फरवार्ड, सिभिल, किसान, उन्नति सहकार्य र नेरुडे लघुवित्तको शेयरमूल्य बढेको छ । लघुवित्तको सूचक करिब २ प्रतिशतले बढेको छ ।

केन्द्रीय बैंकले एकीकृत निर्देशनमा संसोधन गर्दै एक महिनाअघि उक्त निर्देशन जारी गरेसँगै लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट आएको थियो ।एक महिनापछि बजारमा पुनः लघुवित्तमा माहोल फर्किएको हो ।

सो निर्देशनपछि लघुवित्तको शेयरमूल्य घट्यो भने जलविद्युत र बीमा कम्पनीहरुको शेयरमूल्य उच्च रुपमा बढ्न पुग्यो। असार १ गते पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डले ५१ वटा जोखिमयुक्त कम्पनीहरुको सूची सार्वजनिक गरेसँगै ३ हजार बिन्दुमाथि पुगेको नेप्सेमा करिब २०० अंकको गिरावट आयो भने अधिकांश कम्पनीहरुको शेयरमूल्य घटेको थियो ।

राष्ट्र बैंकले क ख ग वर्गका कम्पनीहरुलाई घ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न पनि बन्देज गरिएसँगै लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा गिरावटको चक्र सुरु भएको थियो ।

एक महिनाअघि जारी भएको उक्त निर्देशनपछि केन्द्रीय बैंकले विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न नपाइने र जेठ १० गतेसम्म शेयर खरीद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्री गरिसक्न निर्देशन दिएको थियो ।

केन्द्रीय बैंकले एकीकृत निर्देशनमा संसोधन गर्दै सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने व्यवस्था गरेको थियो ।

यस्तै, बैंकहरुले गरेको लगानी बिक्रीमा पनि खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाइने व्यवस्था ल्याइएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ असार २०७८, सोमबार  १२ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।