सामाजिक सुरक्षा कोषमा ६ अर्ब ३९ करोड संकलन, ११ करोड ६२ लाख दाबी भुक्तानी

0
Shares

योगदानमा आधारित सामाजिक सुरक्षा कोष सञ्चालनमा आएको २ वर्ष अवधिमा कोषले गोगदानकर्ताबाट ६ अर्ब ३९ करोड रुपैयाँ योगदान रकम संकलन गरेको छ भने कोषले भुक्तानी गर्ने विभिन्न शीर्षकमा ११ करोड ६२ लाख रकम कोषबाट दाबी भुक्तानी भएको छ ।

हालसम्म कोषमा सूचीकृत १४ हजार ५८० रोजगारदाताका २ लाख ५१ हजार २९२ योगदानकर्ताबाट ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम संकलन भएको कोषले जनाएको छ ।

यस अवधिमा कोषले सञ्चालन गर्ने औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २ हजार ४७ योगदानकर्तालाई ३ करोड ९१ लाख, दुर्घटना तथा असक्तता योजनामा ९१ योगदानकर्तालाई २६ लाख ९१ हजार, आश्रित परिवार सुरक्षा योजनामा ४१ आश्रित परिवारलाई ४८ लाख ३ हजार र बुद्भावस्था सुरक्षा योजनामा ८७४ योगदानकर्तालाई ६ करोड ९७ लाख गरी कुल ११ करोड ६२ लाख रकम कोषबाट दाबी भुक्तानी गरेको हो ।

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७७ माघ २९ गते दोस्रो संशोधन भएपछि आमरोजगारदाता तथा श्रमिकहरुमा थप उत्सुकता पैदा भएको कोषले जनाएको छ ।

दोस्रो संशोधन भएपछि मात्रै कोषमा १ हजार ३२८ रोजगारदाता, ६४ हजार ९५६ योगदानकर्ता र २ अर्ब २१ करोड १२ लाख भन्दा बढी रकम संकलन भएको छ । यस बीचमा कोषमा निरन्तर रुपमा योगदानकर्ता तथा रोजगारदाताको संख्यामा वृद्धि भैरहेको कोषले जनाएको छ ।

आव २०७६/७७ को वृद्धावस्था सुरक्षा योजना अन्तरगतको संकलित योगदान रकमको लगानीवाट प्राप्त प्रतिफल ३ करोड ८० लाख १५ हजार ६९८ रुपैयाँ वितरण योग्य रकमलाई कोषमा सम्वन्धित योगदानकर्ताको योगदान रकम दाखिला भएको आधारमा ८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय भएको हुँदा सो रकम कोषले सम्बन्धित योगदानकर्ताको सामाजिक सुरक्षा कोषको खातामा यथासक्य चाँडो जम्मा गर्ने कोषले जनाएको छ । समाजिक सुरक्षा कोषमा आवद्ध भइ कोषले प्रदान गर्ने सुविधाहरु उपयोग गर्न कोषले सबै सरोकारवालाहरुमा अनुरोध छ ।

सरकारले सामाजिक सुरक्षा कोषलाई उच्च प्राथमिकतामा राख्दै आव २०७८/७९ को बजेट वक्तव्य मार्फत योगदानकर्ताको २०७८ जेठ र असार महिनाको योगदान जम्मा गरि दिने निर्णय गरेको थियो । कोषमा २०७५ कार्तिक २६ गते राजपत्रमा सूचना प्रकाशित गरी मिति २०७६ साउन बाट निरन्तर योगदान रकम संकलन भइरहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ असार २०७८, सोमबार  १७ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।