आवेदन दिएको ४ वर्षपछि मैलुङ खोला जलविद्युतलाई आइपीओ निष्काशनको अनुमति

0
Shares

मैलुङ खोला जलविद्युत कम्पनीले आवेदन दिएको ४ वर्षपछि आईपीओ निष्काशन अनुमति पाएको छ । पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले असार २३ गते आईपीओ निष्काशनको अनुमति पाएको हो ।

कम्पनीले सर्वसाधारणको लागि ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनको अनुमति पाएको हो ।

मैलुङ खोला जलविद्युत कम्पनीको सर्वसाधारणमा शेयर जारी गर्न २०७४ माघ १८ गते बोर्डमा आईपीओ जारी गर्न अनुमति माग्दै निवेदन दर्ता गराएको थियो । तर त्यसको साढे ३ वर्षपछि कम्पनीले आईपीओ जारी गर्न अनुमति पाएको हो । बोर्डले मागेको आवश्यक कागजात कम्पनीले उपलब्ध नगराएपछि लामो समयमम्म कम्पनीले शेयर जारी गर्ने अनुमति पाउन सकेको थिएन ।

मैलुङ खोला जलविद्युत कम्पनीको आईपिओलाई इक्रा नेपालले ‘इक्राएनपि ग्रेड ५’ दिएको छ । धितोपत्र बोर्डले केहि समय अघि खराब रेटिङ्ग पाएका कम्पनीहरुले आईपिओ निष्काशन गर्न नपाउने व्यवस्था गरेको थियो । तर स्थानीय आयोजना प्रभावितलाई आईपिओ निष्काशन गरीसकेकोले मैलुङ खोला लाई भने त्यो व्यवस्था लागू नभएपछि सर्वसाधारणलाई शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।

मैलुङ खोला जलविद्युत् कम्पनीले २०७४ बैशाखमा नै स्थानीय बासिन्दाको लागि ३ लाख ६८ हजार १ सय ४३ कित्ता शेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनीमा ७० प्रतिशत शेयर संस्थापक समुहको, स्थानीय बासीन्दाका लागि १० प्रतिशत र सर्वसाधारणका लागि २० प्रतिशत शेयर स्वामित्व संरचना रहेको छ । जसमध्ये २५ करोड ७७ लाख रुपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता भईसकेको छ । ६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको यो आयोजना रसुवा जिल्लाको डाँडागाउँमा रहेको छ ।

आइपीओ निष्काशन तथाबिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २४ असार २०७८, बिहीबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।