केहि समय यता सुस्ताएको शेयरबजारमा यस साताको अन्तिम दिन बिहबिारको कारोबारले सुधारको संकेत देखाएको छ । लगातार घटिरहेको शेयरमा दोहोरो अंकको वृद्धिसँगै कारोबार रकम पनि बढेपछि लगानीकर्तामा उत्साह थपिएको छ ।
पछिल्ला दिनहरुमा शेयर बजार निरन्तर घटिरहेको थियो । बजार घट्दा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थाको देखिएका थिए । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २३.७६ अंक बढेर २८२४.८९ विन्दुमा पुगेको छ। लगातार चार दिन घट्दा ४२.४७ अंक तल झरेको नेप्से यस दिन २३.७६ अंकले फर्किएको छ ।
यस दिन कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ। यस दिन २२३ कम्पनीको ५१ हजार ८६८ पटकको कारोबारमा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार रुपैयाँबराबरको १ करोड ३१ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बुधबार ४ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको थियो।
बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी २ उपसमूहको परिसूचक ओरालो लागेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.०९ प्रतिशत बढेको छ। त्यसैगरी, विकास बैंक उपसमूहको परिसूचक यस दिन २.१२ प्रतिशत बढेको छ भने जलविद्युतको १.९५ प्रतिशत, लघुवित्तको १.३३ प्रतिशत र लगानीको १.०८ प्रतिशत बढेको छ। कारोबारमा आएका व्यापार र अन्य उपसमूहको परिसूचक भने यस दिन ०.५५ प्रतिशत घटेको छ।
यस दिन नेपाल बैंकको सबैभन्दा धेरै २१ करोड १८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । गुहेश्वरी फाइनान्सको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरको मूल्य ६.११ प्रतिशत बढ्दा जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रो, मल्टीपपर्स फाइनान्स र सिभिल लघुवित्तको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया