उच्च आवेदन र न्यून संख्यामा शेयर प्राप्त गर्दा १० कित्ता आईपीओबाटै हजारौं नाफा हुन थालिरहेको बेला अर्को एक लघुवित्तको ३ करोड ९५ लाख रुपैयाँको प्राथमिक शेयर (आईपीओ) जारी हुने भएको छ ।
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण (वित्तीय संस्थाका कर्मचारी र सामुहिक लगानी कोष समेत) ले सर्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य एक सय रुपैयाँ अंकित दरको ३ लाख ९५ हजार ३३५ दशमलव ९७०४ कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो ।
आईपीओ निष्काशनका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा लघुवित्त वित्तीय संस्था र क्यापीटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौतापत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रबन्ध सञ्चालक डोलिन्द्र प्रसाद शर्मा र क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गरेका छन् ।
बाग्लुङको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेकोे नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त “घ” वर्गको राष्ट्रियस्तरको यस लघुवित्त वित्तीय संस्थाले हालै मात्र म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैकको स्वीकृति लिई एक्विजिशन (प्राप्ति) गरेको छ ।
एक्विजिशन (प्राप्ति) पश्चात् वित्तीय संस्थाको अधिकृत पूँजी २० करोड रुपैयाँ र जारी पूँजी १२ करोड १६ लाख ४१ हजार ८३७ रुपैयाँ रहेको छ । संस्थापक समुहको ६७.५० प्रतिशत शेयर रहेको यस वित्तीय संस्थामा १ वटा संस्था सहित ९९ जना संस्थापक शेयरधनीहरुबाट ८ करोड २१ लाख ८ हजार २ सय ४० रुपैयाँ बराबरको शेयर पूँजी चुक्ता भैसकेको छ ।
वित्तीय संस्थाले हाल ३७ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रियस्तरमा ४७ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिंदै आईरहेको छ ।
विगत २१ वर्ष देखि नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थकर्ताको कारोवार गर्ने इजाजत लिई लघुवित्तीय कारोबार गर्दै आईरहेको चारतारे युवा क्लब, नेपालले नेपाल राष्ट्र बैंकबाट सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाउँमा मिति २०७५ साल माघ २८ गते ईजाजतपत्र प्राप्त गरी मिति २०७५ चैत १ गतेका दिनदेखि सम्पूर्ण वित्तीय कारोबारहरु यथावत रुपमा सञ्चालन गर्दै आएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया