नेपाल धितोपत्र बोर्डका पुर्व अध्यक्षहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुँजी बजारको स्थायित्वमा केन्द्रीत हुनुपर्र्ने सुझाव दिएका छन् । उनीहरुले धितोपत्र बजारको विकासका लागि आवश्यक पुर्वाधार तयार गरी अन्तराष्ट्रिय स्तरको बनाउन आवश्यक रहेको समेत औल्याएका छन् ।
बोर्डका पूर्व अध्यक्ष डा. रेवत बहादुर कार्कीले कर्पोरेट मोडलमा नयाँ स्टक एक्सचेञ्जलाई अनुमति प्रदान गर्नुपर्ने बताएका छन । बोर्डको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई सुझाव दिदै कार्कीले सूचीकृत कम्पनी बढाउन पहल गर्नु पर्ने तथा नेपाल स्टक एक्सचेञ्जले क्षमता बढाउनुपर्ने सुझाएका छन । स्टक ब्रोकरलाई डिलरसिप र कर्पोरेट एडभाइजरी काम गर्न दिनुपर्ने बताउँदै उनले भने,“इक्विटी डेरिभेटिभ्सको व्यवस्था, बोर्डलाई आयकर छुट तथा बजारको स्थायित्वमा विषेश जोड दिनु पर्छ । ”
नीति तथा कार्यक्रममा सुझाव दिने क्रममा पूर्व अध्यक्ष दिपकराज काफ्लेले मर्जर तथा प्राप्ति, एडभाइजरी भूमिका सम्बन्धमा स्पष्ट व्यवस्था गर्न आवश्यक रहेको औल्याएका छन् । उनले बजारको स्थायित्वका लागि जोड दिदै बजारका लागि आवश्यक पुर्वाधार तयरा गरी अन्तराष्ट्रिय स्तरको बनाउमा पहल गर्नु पर्ने बताए ।
कार्यक्रममा बोर्डका पूर्व सदस्य नर बहादुर थापाले पूँजी बजारलाई राष्ट्रिय अर्थतन्त्र एवं अन्तर्राष्ट्रिय बजारसँग आबद्ध हुने गरी विकास गर्नुपर्ने बताएका छन । उनले लगानीको औजारको विविधिकरण गर्नु पर्ने बताउदै ऋणपत्र बजारको विकास गर्नु सुझाएका छन् । बजारको गहिराई बढे अनुसार दायरा पनि विस्तार गर्नु पर्ने आवश्यकता रहेको थपाले बताए ।
नेप्सेका कार्यकारी प्रमुख चन्द्र सिंह साउदले इन्ट्राडे ट्रेडिगं, ओटिसी बजार प्रभावकारी बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आउनु पर्ने बताए । एसएमइज बजारको स्थापना गर्नुपर्नेमा जोड दिदै साउदले संस्थागत ब्रोकर, पेमेन्ट गेटवे स्थापना लगायतका विषयलाइ सम्बोधन गरेर नीति तथा कार्यक्रम तयार गरीनु पर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा सिडिएससिका पूर्व प्रमूख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताले अलर्ट सिस्टम सहितको सुपरिवेक्षण प्रणाली विकास गरी सोलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका छन् । गुप्ताले संस्थागत सुशासन अभिवृद्धिमा जोड दिनुपर्ने तथा नेप्से सूचकांक गणना विश्वसनिय बनाउन समेत बोर्डलाइ सुझाव दिएका छन ।
मर्चेन्ट बैंकिङ व्यवसायमा स्वस्थ प्रतिष्पर्धालाई जोड दिनुपर्छ: थापा
मर्चेन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष मेख बहादुर थापाले बजार सहभागीको क्षमता अभिवृद्धि गर्नमा जोड दिने गरी नीति तथा कार्यक्रम ल्याउनु पर्ने सुझाएका छन । उनले मर्चेन्ट बैंकिङ व्यवसायमा स्वस्थ प्रतिष्पर्धालाई जोड दिनुपर्ने तथा प्रशिक्षण संस्था स्थापनाको व्यवस्था नीति तथा कार्यक्रमले समेट्जु पर्निे धारण राखेका थिए ।
धितोपत्र दलाललाई पनि साधरण शेयर जारी गर्न दिनु पर्छः मैनाली
कार्यक्रममा स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष सन्तोष मैनालीले बजारको पहुँच विस्तारका लागि धितोपत्र दलाल कम्पनीहरुलाई आधिकारिक प्रतिनिधिको व्यवस्था शिघ्र गर्नुपर्ने सुझाव दिएका छन् । उनले धितोपत्र दलाललाई सार्वजनिक कम्पनीमा रूपान्तरण गर्दा निश्चित प्रतिशत शेयर सार्वजनिक निष्काशन गर्ने व्यवस्था गर्नु पर्ने बताए । मौनालिले नीति तथा कार्यक्रमले हाल सुस्त रहेको ऋणपत्र बजारको विकास गर्ने सम्बन्धमा विषेश जोड दिनुपर्ने सुझाव दिएका छन ।
धितोपत्र बोर्डको नियमन बलीयो बनाउन आवश्यकः लगानीकर्ता
धितोपत्र बोर्डले आगामी नीति तथा कार्यक्रमका लागि सुझाव संकलनका लागि गरेको कार्यक्रममा लगानीकर्ताका तर्फबाट भित्री कारोबार नियन्त्रण गर्नुपर्ने, सिडिएस र टिएमएस प्रभावकारी बनाउनुपर्ने सुझाव रहेका छन् । लगानीकर्ता संघ संस्थाका प्रतिनिधिहरुले नेप्सेको वेबसाइटमा सबै कुराहरू उपलब्ध हुनुपर्ने, धितोपत्र बजारको प्रविधि लगानीकर्तामैत्री बनाउनुपर्ने, बोर्डले नियमनको पाटोलाई प्राथमिकतामा राखी निरन्तर रूपमा बलियो तवरले बजारको नियमन गर्नुपर्ने औल्याएका छन् । बजार विकास तथा विस्तारका लागि नियमनकारी निकायबिच समन्वय हुनुपर्ने र तथ्यहिन र भ्रामक समाचार प्रसारण हुने सञ्चार माध्यम तथा सामाजिक सञ्जाललाई नियन्त्रण गर्नुपर्ने जस्ता सुझावहरू उनीहरुले दिएका छन ।
कार्यक्रममा बोर्ड अध्यक्ष भिष्म राज ढुङ्गानाज्यूले पुँजी बजारको विकासका लागि चार वर्षिय रणनीतिक योजना नै तर्जुमा गरी अगाडि बढेको बताए । आगामी वर्षमा नै उक्त रणनीतिको करिब ४० प्रतिशत कार्य सम्पन्न हुने गरी नीति तथा कार्यक्रमको तर्जुमा गर्न लागिएको उनको भनाइ छ । बजारको विकास तथा विस्तारका लागि सबै पक्षको साथ भएमा आगामी केही वर्षमा नै पुँजी बजारमा ठूलो संरचनात्मक परिवर्तन गरी अन्तर्राष्ट्रिय स्तरको हुने उनको विश्वास रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया