अमेरिकाद्वारा नेपाललाई १५ लाख खोप सहयोगः ५० देखि ५४ वर्षका नागरिकलाई लगाइने

0
Shares

संयुक्त राज्य अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग गरेको छ ।

अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड–१९ विरुद्धको उक्त खोप नेपालस्थित अमेरिकी राजदूत ¥यान्डी बेरीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरे ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले प्राप्त खोप नेपाली नागरिकको जीवनरक्षाका लागि वरदान सावित हुने बताए । एक मात्रा मात्र लगाए पुग्ने सो खोप ५० देखि ५४ वर्षका नागरिकलाई प्राथमिकताका आधारमा लगाइने योजना रहेको उनले जानकारी दिए।

अमेरिकाले यसअघिदेखि नै नेपाललाई कोरोनाको उपचार र रोकथाममा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिरहेकामा मन्त्री श्रेष्ठले आभार व्यक्त गरे । “कोरोनाको नियन्त्रणका लागि खोप नै उत्तम विकल्प हो, ७२ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप लगाउने गरी सरकारले आवश्यक तयारी गरेको छ”, उनले भने ।

पत्रकार सम्मेलनमा राजदूत बेरीले नेपाली जनताको जीवनरक्षाको एक मात्र उद्देश्यले खोप उपलब्ध गराइएको बताउँदै यसले नेपाललाई अहिलेको महामारीबाट बाहिर निस्कन सहयोग गर्ने विश्वास व्यक्त गरे । कोभ्याक्सको गौरवशाली सदस्यका रुपमा अमेरिकाले दुई अर्ब डलरको अनुदान उपलब्ध गराएको अवगत गराउँदै उनले त्यस सहयोगबाट न्यून तथा मध्यम आय भएका मुलुकमा खोप आपूर्ति हुने बताए ।

राजदूत बेरीले आजसम्म अमेरिकाले नेपालको कोभिड प्रतिकार्यका लागि सात करोड अमेरिकी डलरभन्दा बढी योगदान गरिसकेकोसमेत जानकारी दिए।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ असार २०७८, सोमबार  १३ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।