कालीगण्डकीको डाइभर्सन नगर्न सर्वोच्चको अन्तरिम आदेश

0
Shares

सर्वोच्च अदालतले कालीगण्डकी नदीको प्राकृतिक बहाब रोक्ने गरी डाइभर्सनका कुनै पनि काम नगर्न अन्तरिम आदेश दिएको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माको रिटमाथि सुनुवाई गर्दै मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले उक्त आदेश दिएका हुन् ।

प्रधानन्यायाधीश जबराको एकल इजलासले कालीगण्डकी नदी डाइभर्सन गर्ने गरी कुनै पनि काम अगाडि नबढाउन विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

‘कालिगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्वको देखिएकोले प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म उक्त नदीको प्राकृतिक वहावलाई पथान्तरण गरि रिजरभ्वायर बनाउने, प्रदुषण गर्ने, नदीजन्य पदार्थहरू निकाल्ने, शालिग्रामको चोरी निकासी तथा विनास गर्ने लगायतका अन्य प्राकृतिक बहाव र पर्यावरण प्रतिकुल हुने गरी कुनैपनि कार्यहरू नगर्नूरनगराउनू यथास्थितिमा राख्नु भनी विपक्षीका नाउँमा अन्तरिम आदेश जारी गरी दिएको छ,’ सर्वोच्चको आदेशमा उल्लेख छ ।

सरकारले कालीगण्डकी नदी डाइभर्सन आयोजना अघि बढाउन लागेपछि वातावरण संरक्षणकर्मी कानून व्यवसायी शर्माले कालीगण्डकी नदी संरक्षणका लागि विभिन्न आदेश माग गर्दै असार २५ गते रिट दायर गरेका थिए ।

रिटमाथि प्रधानन्यायाधीशको एकल इजलासले कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्वको देखिएकाले यो रिट निवेदनको अन्तिम टुंगो नलाग्दासम्म कालीगण्डकीको बहाव रोक्ने र पर्यावरण प्रतिकुल हुने गरी काम नगर्न अन्तरिम आदेश दिएको हो ।

कालिगण्डकी डाइभर्सन निवर्तमान अर्थमन्त्री विष्णु पौडेलको महत्वाकांक्षी आयोजना हो । निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको बुटवलमा कालिगण्डकी डाइभर्सन आयोजनाको कार्यालय उद्घाटन गरेपछि यसबारेमा संघ र प्रदेश बीच विवाद हुँदै आएको छ । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ र बहालवाला मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले समेत यसको विरोध गरेका थिए ।

गण्डकी र लुम्बिनी भएर बग्ने कालीगण्डकी नदीलाई स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुंगा र पाल्पाको रम्भा गाउँपालिका–३, पीपलडाँडाबाट २७ किलोमिटर सुरुङमार्फत तिनाउमा झार्ने र जसबाट १२७ मेगावाट बिजुली उत्पादन र कपिलवस्तु र रुपन्देहीका १ लाख ७ हजार हेक्टर जमिन सिँचाइ गर्ने महत्वाकांक्षी योजना अगाडि बढाइएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० असार २०७८, बुधबार  १६ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।