नयाँ आर्थिक वर्ष सुरु भएसँगै आजदेखि शेयर बजाररका लगानी गर्ने अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका लागि अलग अलग पूँजीगत लाभकर लागू भएको छ ।
संघीय संसदको अर्थ समिति अन्तर्गत गठीत पूँजी बजार र मुद्रा बजार सम्बन्धि अध्ययन उपसमितिले शेयर बजारमा कारोबार गर्ने कारोबारी र दीर्घकालीन लगानीकर्तालाई अलग अलग दरमा पूँजीगत लाभकर लगाउन दिएको सुझाव अनुसार बजेटले अल्पकालीन र दीर्घकालीन लागानीकर्ताका लागि अलग अलग लाभकर लाग्ने व्यवस्था गरेको थियो ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलद्धारा जेठ १५ गते अध्यादेश मार्फत सार्वजनिक गरिएको आव २०७८।७९ बजेटमा एक वर्षभन्दा कम अवधिको लगानीकर्तालाई ७.५ प्रतिशत र एक वर्षभन्दा धेरै अवधि होल्ड गर्ने लगानीकर्तालाई ५ प्रतिशत लाभकर लाग्ने व्यवस्था गरिएको हो । यसअघि सबै लगानीकताले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए ।
धितोपत्र बजारमा दीर्घकालीन लगानीलाई प्रोत्साहित गर्न र छोटो अवधिको लगानीबाटै राम्रो प्रतिफल खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्न अल्पकालीन लगानीकर्तालाई बढी पूँजीगत लाभकर लगाइएको हो ।
चालु आर्थिक वर्षको बजेटले व्यवस्था गरेको नयाँ पूँजीगत लाभकर आजदेखि कार्यान्वयनमा आएपनि आइतबार मात्र शेयर कारोबार हुने भएकाले सो दिनको कारोबारदेखि लागू हुनेछ ।
सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले बजेटमा व्यवस्था भए बमोजिम अल्पकालिन र दीर्घकालिन लगानीकर्तालाई अलग अलग पूँजीगत लाभकर गणनाको सिस्टम तयार भइसकेको बताए ।
धितोपत्र लगानीकर्ताहरुले भारित औषत लागतका आधारमा पूँजीगत लाभकर तिर्दै आएका छन् । आगामी दिनमा पनि सोही गणना विधिबाट अल्पकालिन र दीर्घकालिन लगानीकर्ताको रुपमा व्यक्तिगत लगानीकर्ताहरुले फरक फरक पूँजीगत लाभकर तिर्नुपर्नेछ ।
धितोपत्र कारोबारमा नाफा नभएको खण्डमा भने पूँजीगत लाभकर तिर्नुपर्नेछैन् । यस वर्षदेखि सामूहिक लगानीकोषहरुलाई भने पूँजीगत लाभकर नलाग्ने व्यवस्था सरकारले गरेको छ । धितोपत्र कारोबारमा सहभागी व्यक्तिगत लगानीकर्ताहरुले तिर्ने पूँजीगत लाभकरलाई आन्तरिक राजश्व विभागले अन्तिम करको मान्यता दिएको छ ।
पूँजीगत लाभकर के हो ?
पूँजीगत लाभ भनेको कुनै पनि पूँजीगत सम्पत्ति वा पूँजीगत दायित्वको निसर्ग गर्दा प्राप्त हुने लाभ (वा नोक्सानी भए यस्तो नोक्सानी समायोजन गरी रहेको लाभ वा थप नोक्सानी समेत) लाई जनाउँछ ।
सम्पत्ति वा दायित्वको निसर्ग भन्नाले मुख्यतया यस्तो सम्पत्ति वा दायित्वबाट स्वामित्व हटेको अवस्थालाई जनाउँछ । यस्तो स्वामित्व हट्ने अवस्था सम्पत्ति वा दायित्व बिक्री हुनु, वितरण गरिनु, अन्य सम्पत्ति वा दायित्वमा गाभिनु, पट्टामा दिइनु, रद्द गरिनु, विनाश हुनु, हराउनु, म्याद सकिनु, समर्पण गरिनु, समापन हुनु, दायित्व फछ्र्यौट वा मुक्त हुनु समेतको अवस्थालाई जनाउँछ ।
नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएको कम्पनिको शेयर कारोबारबाट प्राप्त लाभमा वासिन्दा प्राकृतिक व्यक्तिलाई एक वषएभन्दा कम समयावधिको लाभको ७.५ प्रतिशत तथा एक वर्षभन्दा बढी अवधिमा ५ प्रतिशत र अन्यको हकमा १० प्रतिशतले कर लाग्दछ ।
नेपाल स्टक एक्सचेन्जले अग्रिम कर कट्टी गरी दाखिला गर्नुपर्दछ । नेपाल स्टक एक्सचेन्जमा सूचीकरण नभएको कम्पनिको शेयर कारोबारमा बासिन्दा प्राकृतिक व्यक्तिको हकमा १० प्रतिशतले र अन्यको हकमा १५ प्रतिशतका दरले सम्बन्धित कम्पनिले अग्रिम कर कट्टी गरी दाखिला गर्नुपर्दछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया