धितोपत्र बोर्डले कमजोर देखेका कम्पनीहरुको भाउ बढ्दा नेप्से नयाँ उचाईमा

0
Shares

गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशनको तयारीमा रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले प्रोभिजन रकम बढाउन निर्देशन दिएपछि मंगलबारको शेयर बजारको माहोल फेरिएको छ ।

मंगलबार बजार खुलेको केहिबेरमा बैंक तथा वित्तीय संस्थाहरुको शेयरमा बिक्री चाप पर्दा ओरालो लागेको बजार जलविद्युत लगाय अन्य विभिन्न समूहको शेयर मूल्यमा उछाल आएपछि बजारले नयाँ उचाई लिएको छ ।

गत साउन १० गते आइतबार ५४.३३ अंकले बढेर ३ हजार ५८ दशमलव ६३ बिन्दुको सर्वाधिक उचाइमा पुगेको नेप्सेमा सोमबार सामान्य करेक्सन आएको थियो । मंगलबार २९ अंकले बढेर हालसम्मकै सर्वाधिक ३ हजार ७९ विन्दुको उचाईमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्था एक प्रतिशतबाट बढाएर १.३ प्रतिशत कायम गरेको छ ।कोभिड–१९ महामारीका कारणले बैंकिङ सम्पत्तिको गुणस्तरमा परेको प्रभावलाई दृष्टिगत गरी साधारण कर्जा नोक्सानी व्यवस्था एक प्रतिशतको अतिरिक्त ०.३ प्रतिशत थप गरी कूल १.३ प्रतिशत कायम गरेको केन्द्रिय बैंकको भनाई छ ।

यता २० प्रतिशतभन्दा माथि लाभांश बाड्ने लघुवित्तलाई लाभांश वितरणमा केहि कडाई गरेपछि लघुवित्तको शेयरमा आकर्षण घटेको छ।

नयाँ निर्देशिका अनुसार यदि कुनै लघुवित्त संस्थाले २० प्रतिशतभन्दा बढि लाभांश दिन चाहेको खण्डमा त्योभन्दा बढी लाभांशको ५० प्रतिशत जगेडा कोषमा राख्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।

यसअघि इजाजत प्राप्त संस्थाले आर्थिक वर्ष २०७७र७८ मा खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था थियो ।

मंगलबार सुरुवाती समयमा ओरालो लागेको बजारले सकारात्मक लय लिँदै गर्दा धितोपत्र बोर्डले कमजोर देखेका कम्पनीहरु नै लगानीकर्ताको रोजाईमा परेका छन् । केहि समय अघि बोर्डले शेयर बजारमा गलत किसिमको शेयर कारोबार भइरहेको भन्दै त्यस्ता कम्पनीहरुको थप अनुसन्धान गर्ने भनी ५१ कम्पनीको सूची तयार पारेको थियो ।

बोर्डको सूचीमा अधिकांस जलविद्युत समूहका कम्पनी, माइक्रोफाइनान्स, फाइनान्स, होटल लगायतका ५१ कम्पनी रहेका थिए । यी कम्पनीहरुको शेयरमा कर्नरिङ र सर्कुलर ट्रोडिङ भईरहेको बोर्डको निष्कर्ष थियो। तर पछिल्लो चरणमा फेरि यिनै कम्पनीहरु लगानीकर्ताको रोजाईमा परेको पाइएको छ । मंगलबार नेप्सेले नयाँ उचाई लिँदै गर्दा अधिकांस जलविद्युत समूहका कम्पनीको शेयरमूल्य बढेको छ । यसदिन झण्डै एकदर्जन कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । धेरै गुमाउने अधिकांस कम्पनीमा लघुवित्त कम्पनीहरु रहेका छन् ।

मंगलबार २९.२४ अंकले बढेर हालसम्मकै सर्वाधिक ३ हजार ७९.६७ विन्दुको उचाईमा पुगेको छ । यसदिन २२५ कम्पनीको १५ अर्ब १७ करोड बढीको शेयर किनबेच भयो ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १२ श्रावण २०७८, मंगलबार  १५ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।