नबिल बैंकलाई ऋणपत्र बिक्री गर्न मुस्किल, ६ दिनमा १८ प्रतिशत मात्र बिक्यो

0
Shares

नबिल बैंकलाई ऋणपत्र बिक्रीमा नै कठिनाई उत्पन्न भएको छ । आकर्षक व्याजदरमा सजिलै ऋणपत्र बिक्री हुने गरेकोमा छोटो समयमा निष्काशित न्यून परिमाणमा माग परेपछि ऋणपत्रको अवधि ढिलो मितिसम्म लम्बिएको छ ।

बैंकले साउन १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ३ अर्बको ऋणपत्रमा साउन १४ गतेसम्म आवेदन गर्ने समय रहेकोमा सो अवधिमा १० प्रतिशत ऋणपत्र पनि बिक्री हुन नसकेपछि ढिलो मिति अर्थात साउन २४ गतेसम्म आवेदन दिने म्याद लम्बिएको थियो ।

यसअघि उच्च ब्याजदरमा ऋणपत्र बिक्री हुने गरेपनि ब्याजदर घटेपछि ऋणपत्रमा लगानी आकर्षण घटेको हो । प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा जारी हुने हुँदा मूल्य महङ्गो र शेयर (इक्वीटी) जस्तो सहजै धितोपत्रको दोस्रो बजारमा छिटो खरीद बिक्रीमा आउने कठिनाईले ऋणपत्रमा सर्वसाधारण लगानीकर्ताको आकर्षण घट्न थालेको हो ।

बैंकले ऋणपत्रमा लगानी गर्ने लगानीकर्तालाई वार्षिक ८ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नाम दिइएको ७ वर्ष अवधिको ऋणपत्र निष्काशन गरेको हो । उक्त ऋणपत्र प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा बिक्रीमा आएको छ ।

बैंकले बिक्रीमा ल्याएको ३ अर्बको कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्रीमा ल्याइएको हो । जसमध्ये ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ११ लाख ४० हजार कित्ता सर्वसाधारणबाट माग गरिएको थियो ।

छैटौं दिन शुक्रबार साँझसम्म बल्ल २ लाख ५ हजार ६०८ कित्ताका लागि माग परेको छ । यो सर्वसाधारणबाट माग गरिएको संख्या (११ लाख ४० हजार) को १८ प्रतिशत मात्र हो । बैंकको ऋणपत्रमा ७२ प्रतिशत अर्थात ९ लाख ३४ हजार ३९२ कित्ताको माग पर्न बाँकी रहेको छ ।

ऋणपत्रमा लगानी गर्न इच्छुक लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङको मेरो शेयर सफ्टवेयर तथा मोबाइल एप, नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सी आस्बाको माध्यमबाट आवेदन गर्न सक्नेछन् ।
ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गरी छिटोमा साउन १३ गतेसम्म रहेको थियो ।

निष्काशित ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा ‘इक्राएनपी आईआर डबल ए माइनस’ रेटिङ्ग प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित तथा न्यून कर्जा जोखिम रहेको जनाउँछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ श्रावण २०७८, शुक्रबार  १८ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।