नेप्से सूचक हालसम्मकै सर्वाधिक उचाईमा पुग्दा जलविद्युतका शेयरमा लगानीकर्ताको विशेष आकर्षण देखिएको छ । जलविद्युत समूहमा उच्च वृद्धि हुँदा वाणिज्य बैंक समूह भने सुस्ताएको छ ।
नेपाल राष्ट्र बैंकले यहि साता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेका बेला शेयर कारोबारमा तेजी आएको छ भने नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरिने भन्ने खबरहरुले प्राधिकरण अन्तर्गतका जलविद्युत कम्पनीको मूल्य बढ्दा समग्र जलविद्युत समूहका शेयरको मूल्य बढेको हो ।
यसदिन सात जलविद्युत कम्पनीको शेयरमूल्य दश प्रतिशतले बढेको छ । उच्च कारोबार हुने कम्पनीको अग्रस्थानमा पनि चार जलविद्युत कम्पनी परेका छन् । धेरै कित्ता कारोबार हुनेमा पनि जलविद्युतकै कम्पनीले उछिनेका छन् । समग्रमा कारोबार रकममा पनि जलविद्युत समूहले नै उछिनेको छ । १५ अर्ब ५९ करोड बढीको कारोबार भएको बजारमा जलविद्युत समूहको मात्रै ३ अर्ब ६९ करोड बराबरको शेयर किनबेच भएको छ ।
बुधबार नेप्से परिसूचक १२.०५ अंकले वृद्धि भइ ३१२३.१५ अंकमा पुगेर हालसम्मकै सर्वाधिक उचाई हासिल गरेको छ । यस दिन २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रुपैयाँमा कारोबार भएको छ ।
आज कूल १३ उपसमूहमध्ये ६ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ७ उपसमूहको घटेको छ । बुधबार खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, कालिका पावर कम्पनी, युनियन लाइफ इन्स्योरेन्स, अपि पावर कम्पनी, अपर तामाकोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया