
एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा खराब कर्जा अनुपात ०.८३ प्रतिशतले बढेपनि सम्भावित कर्जा नोक्सानी व्यवस्था रकम भने उलेख्य घटेको छ ।
अघिल्लो आवमा २.३३ प्रतिशत खराब कर्जा अनुपात रहँदा सम्भावित कर्जा नोक्सानी व्यवस्थामा १२.२१ करोड राखेको कम्पनीले गत आवमा ३.१६ पुगेपनि सम्भावित कर्जा नोक्सानी व्यवस्थाको रकम ९.७१ करोडले घटेर २.४९ करोड मात्र छुट्टाएको छ ।
लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा १९ करोड ८७ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा ७ करोड ५५ लाख ९८ हजार रुपैयाँ नाफा कमाएकोमा १६२.९७ प्रतिशतले खुद नाफा बढेको हो ।
एकातिर सम्भावित कर्जा नोक्सानी कोषमा करिब दश करोड कम रकम छुट्टाएको छ भने अर्कोतर्फ ६९ प्रतिशत खुद ब्याज आम्दानी बढेर कोषको लागत ३ प्रतिशतले घट्दा लघुवित्तको नाफामा उच्च सुधार आएको हो ।
चुक्ता पूँजी ५३ करोड ९८ लाख ५ हजार रूपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी २०.१६ ले बढेर ३६.९२ रुपैयाँ पुगेको छ । यस्तै लघुवित्तको प्रतिशेयर नेटवर्थ १६७.७१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३८.८० गुणा छ ।
समीक्षा अवधिमा चुक्ता पूँजी १९ प्रतिशत, जगेडा कोषको आकार ३३.४४ प्रतिशत, निक्षेप १३.९३ प्रतिशत, सापटी २१.४५ प्रतिशत, कर्जा लगानी विस्तार ३९.१० प्रतिशतले बढेको छ । यस्तै खुद ब्याज आम्दानीमा ६८.८९ प्रतिशतले बढाएको लघुवित्तको सञ्चालन नाफा १२३९ प्रतिशतले बढेको छ ।
सम्भावित कर्जा नोक्सानी व्यवस्था वापत २ करोड ४९ लाख व्यवस्था गरेको लघुवित्तले खराब कर्जा असुली गरेको छैन ।
२०७८ असार मसान्तसम्ममा लघुवित्तले १ अर्ब ६७ करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन, २ अर्ब ७९ करोड ५६ लाख सापटी लिएर ५ अर्ब २ करोड ३७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले ४७ करोड ३ लाख २६ हजार रुपैयाँ खुद व्याज आम्दानी र ३१ करोड ४८ लाख ५५ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।
संस्थाको जगेडा कोषमा ३६ करोड ५५ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आवमा २७ करोड ३९ लाख रुपैयाँ थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया