दिब्यश्वरी हाइड्रोको प्रतिशेयर नेटवर्थ २२ रुपैयाँ मात्रै, बजार मूल्य ४०० माथि

0
Shares

वित्तीय रुपमा निकै नाजुक अवस्था रहेको दिब्यश्वरी हाइड्रोपावरको शेयरमूल्य भने धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ४०० रुपैयाँभन्दा धेरै रहेको पाइएको छ ।

कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ २२.२१ रुपैयाँ मात्र रहेको छ ।

चुक्ता पूँजी २६ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोष नोक्सानी बढेर २० करोड ५३ लाख ६६ हजार पुगेको छ ।

वित्तीय विवरण अनुसार निकै धरासायी अवस्था रहेपनि कम पूँजीका कारण शेयर बजारका खेलाडीहरुले हाइड्रोपावर कम्पनीहरुमा उछाल आएको मौका छोपी अन्य सबल कम्पनी सरह कम्पनीको मूल्य भने ४०० रुपैयाँभन्दा माथि पुर्याएका छन् । बिहीबार कम्पनीको शेयर प्रतिकित्ता ११ रुपैयाँले बढेर ४०१ रुपैयाँमा कारोबार भएको छ ।  यसले हल्लामा भरमा कम्पनीको शेयरमा लगानी गर्नेको लगानीमा उच्च जोखिम बढेको देखिन्छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी साढे ११ रुपैयाँ ऋणात्मक रहेको छ । हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ करोड ३ लाख ४५ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको हो ।

अघिल्लो आवमा ४ करोड ३४ लाख ६६ हजार नोक्सानीमा रहेकोमा कम्पनीको नोक्सानी गत आवमा भने १ करोड ३१ लाख रुपैयाँले सुधारिएको हो ।

कम्पनीले विद्युत प्राधिरकणसँग भएको पीपीए सम्झौता भए अनुसार वर्षयाममा भोल्टेज व्यवस्थापनका कारण विद्युत खरीद नगरिएकाले कम्पनीलाई नोक्सान भैरहेको कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ ।

आयोजनाले कबोल गरेको अभायवलिटी डिक्लियरेसन अनुरुप विद्युत उत्पादन नभएको भनेर आयोजनासँग उल्टै हर्जना लिइरहेको कम्पनीले जनाएको छ । र कोशी करिडोरको कार्य स्म्पन्न नहुँदासम्म यो समस्या यथावत रहने पनि कम्पनीले जनाएको छ ।

गत आवमा कम्पनीले विद्युत बिक्रीबाट हुने आय ९.३१ प्रतिशतले ७ करोड १ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको फाइनान्सियल र करभन्दा अघिको नाफा साढे १२ लाख बढेर ३ करोड २६ लाख ४५ हजार रुपैयाँ छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ श्रावण २०७८, मंगलबार  ०९ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।