शेयर बजार मापक सूचक नेप्से साउन २६ गते मंगलबार ५१.८६ अंकले बढेर ३१६१.४४ बिन्दुमा पुगेको छ । नेप्से १.६७ प्रतिशतले बढेको हो । यो नेप्सेमा कायम भएको हालसम्मकै उच्च बिन्दु हो ।
यसअघि साउन २० गते बुधबार नेप्से ३१२३.२४ बिन्दुमा पुगेर रेकर्ड कायम भएको थियो । एक सातामा नै नेप्सेको उच्च बिन्दुको रेकर्ड तोडिएको हो । एक सातामौ शेयर बजारले फेरि नयाँ रेकर्ड बनाएपछि लगानीकर्ताहरूको मनोबल पनि बढ्दा लगानीकर्ताहरू उत्साहित छन् ।
सरकार परिवर्तनका कारण रोकिएको मौद्रिक नीति यसै साता सार्वजनिक हुने र सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक हुने मिति नजिकिँदै गएपछि लाभांशमा आधारित लगानी बढ्दा मंगलबार कारोबार रकम पौने १८ अर्ब नाघेको छ । नेप्सेमा यसअघि २० अर्बभन्दा बढी कारोबार भएको रेकर्ड छ ।
मंगलबारको सुरुवाती चरणमा कम पूँजी भएका फाइनान्स र विकास बैंकको शेयरमूल्य उच्च बढेकोमा उत्तरार्धमा बैकिङ्ग सेक्टरमा लगानीकर्ताले आफ्नो लगानी सिफ्ट गरेका छन् । विशेषता जलविद्युतबाट नाफा सुरक्षित गरेका लगानीकर्ताले बैंकमा लगानी बढाएका छन् । साउनभित्र गत आवको प्रगति विवरण सार्वजनिक गर्नुपर्ने भएकाले सबैजसो बैंकको नाफा आंकलन गरिएको छ । यसले पनि बैंकमा लगानी बढेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स १२ अंकले बढेर ५८७.९५ बिन्दुमा पुगेको छ । कूल २२५ वटा कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर १ लाख ६३ हजार ९६९ वटा कारोबारबाट खरिद बिक्री भई १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७९ रुपैयाँ कारोबार पुगेको छ ।
मंगलबार कारोबार भएका १३ मध्ये १० वटा सूचक बढेको छ भने ३ वटा घटेको छ । सबैभन्दा धेरै विकास बैंक ८.०७ प्रतिशत र फाइनान्सको सूचक ६.७८ प्रतिशतले बढेको छ । बैंकिङ्ग, लघुवित्त, जीवन बीमा, र लगानी सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ । ब्यापार सूचक १ प्रतिशत धेरैले घट्दा होटल र जलविद्युतको सूचक सामान्य ऋणात्मक रहेका छन् ।
मंगलबार ११ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन सेन्ट्रल फाइनान्स, बेस्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, कामना सेवा विकास बैंक, सिन्धु विकास बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, जीवन विकास लघुवित्त, आईसीएफसी फाइनान्स, जीवन विकास लघुवित्त र प्रोगेशिभ फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।
शाइन रेसुङ्गा डेभलमपमेन्ट बैंक, युनियन लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी, सांग्रिला डेभलपमेन्ट बैंक, मल्टिपपर्स फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स, र समृद्धि फाइनान्सको मूल्य ९ प्रतिशत बढीले बढेको छ ।
आजको कारोबारमा कमजोर वित्तीय अवस्था रहेका र लाभांश वितरण गर्न नसक्ने कम्पनीको मूल्य सर्वाधिक घटेका छन् । साञ्जेन जलविद्युत कम्पनीको मूल्य सर्वाधिक ५.१६ प्रतिशतले घट्दा सिनर्जी पावर डेभलपमेन्ट, खानीखोला हाइड्रोपावर, पन्चकन्या माइ हाइड्रोपावर, घलेम्दी हाइड्रोपावरको मूल्य ४ प्रतिशतले घटेको छ ।
अरुण भ्याली हाइड्रोपावर, बुटवल पावर, युनाइटेड मोदी हाइड्रोपावर, युनिभर्सल हाइड्रोपावर, र युनाइटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावरको मूल्य करिब ४ प्रतिशतले नै घटेको छ ।
आज अपर तामाकोशीको सबैभन्दा धेरै ८९.३३ करोडको शेयर खरीद बिक्री भएको छ । अरुण भ्याली र अपि पावरको ५० करोड बढीको शेयर कारोबार हुँदा ज्योति विकास बैंक, अरुण काबेली, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र ङादी ग्रुप पावर शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् । दशौं ठूलो कारोबार भएको ङादी ग्रुप पावरको ३२.०४ करोडको शेयर कारोबार भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया