नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ । शुक्रबार बिहान बसेको राष्ट्र बैंक संचालक समितिको बैठकले पारित गरेको मौद्रिक नीति गभर्नर महाप्रसाद अधिकारीले दिउँसो सवा चार बजे सार्वजनिक गर्नेछन् ।
राष्ट्र बैंकका स्रोतका अनुसार यो वर्षको मौद्रिक नीतिले कोभिड प्रभावित क्षेत्र तथा व्यवसायलाई प्रदान गरिएको सहुलियतलाई निरन्तरता दिँदै थप सजगता अपनाइने बताएका छन् । 
राष्ट्र बैंकले शेयरधितो कर्जालाई अप्रत्यक्ष रुपमा कडाई गरेको छ । नयाँ मौद्रिक नीतिले एक व्यक्तिले एक बैंकबाट ३ करोड रुपैयाँ भन्दा बढी शेयर धितो कर्जा लिन नपाउने व्यवस्था गरेको छ ।
साथै सम्पूर्ण बैंक वित्तीय संस्थाबाट लिएको कर्जाको आकार १० करोड भन्दा बढी हुन नहुने व्यवस्था गरेको छ । तर, १० करोडसम्मको कर्जा भएका व्यक्तिले दुईवर्षको अवधिमा तोकिएको सीमामा ल्याउनुपर्नेछ ।
त्यसैगरी मौद्रिक नीतिले कर्जा निक्षेप अनुपात ८५ प्रतिशतबाट बढाएर ९० प्रतिशत कायम गरेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीति मार्फत एक वर्षका लागि भन्दै यस्तो अनुपात ८० बाट ८५ प्रतिशत पुर्याएको थियो।
नेपाल राष्ट्र बैंक स्रोतका अनुसार मर्जरमा जाने वाणिज्य बैंकलाई २०८० सालसम्म सहुलियत प्रदान गरिनेछ भने विकास बैंक र फाइनान्स कम्पनीलाई मर्जरमा बन्देज लगाइएको छ । साथै उपत्यकाभन्दा बाहिर रहेका विकास बैंक र फाइनान्स कम्पनीले काठमाडौंमा सम्पर्क कार्यालय खोल्न भने पाउनेछन् ।
राष्ट्र बैंकले नगद संचिति अनुपात, वैधानिक तरलता अनुपातमा कुनै परिर्वतन नगरिएको स्रोतले जनाएको छ ।
मौद्रिक नीतिले कोभिड र त्यसको प्रत्यक्ष असर कायम रहेका क्षेत्रको पुनर्कजालाई निरन्तरता दिने भएको छ । ऋणको नविरकण तथा पुर्नरसंरचना लगायतका विषयलाई प्रभावको आधारमा निरन्तरता दिने राष्ट्र बैंकले स्रोतले जानकारी दियो।
गत आर्थिक वर्षमा बैंक वित्तीय संस्थाले मौद्रिक नीतिले प्रक्षेपण गरे भन्दा धेरै कर्जा प्रबाह गर्दा पनि प्रारम्भीक अनुमान ४.१ प्रतिशत आर्थिक वृद्धि हासिल नहुने अवस्था देखिएपछि राष्ट्र बैंकले कर्जा नीतिमा केहि पुनरावलोकन गर्ने भएको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीमा आउन सक्ने जोखिमको नियन्त्रणका लागि विषेश ध्यान दिदै मौद्रिक नीति सार्वजनिक गर्दैछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया