
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण हवाई सेवा प्रभावित हुँदा त्यसको प्रत्यक्ष असर सुनचाँदी व्यवसायमा परेको छ । जसले पछिल्लो समय बजारमा बहुमूल्य धातु सुनचाँदीको अभाव हुने अवस्था आउन लागेको हो ।
नयाँ आर्थिक वर्ष लागेसँगै महिलाहरुको चाड तिज, बडा दशैं तथा तिहार तथा त्यस लगत्तै आउने विवाहको सिजमा सुनचाँदीको माग बढ्ने गर्दछ । तर यहि समयमा नै नियमित आउनुपर्ने सुन नै आयात हुन नसक्दा बजारको माग अनुसार सुन उपलब्ध गराउन नसकिएको सुनचाँदी व्यवसायीहरु बताउँछन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्यका अनुसार साउन महिनामा आउनुपर्ने काँचो सुन नेपाल भित्रन नसक्दा नेपाली बजारमा सुनको अभाव हुन थालेको हो ।
शाक्यका अनुसार गत साउन महिनाको दुबईबाट आउने करिब ३०० केजी सुनको आयात रोकिएको छ । उक्त सुन आयात हुन नपाउँदा बजारमा अभाव देखा पनए थालेको शाक्य बताउँछन् ।
नेपालमा गत बैशाख १९ गतेबाट दैनिक आयात हुने सुनको कोटा बढाएर २० किलो पुर्याइएको थियो । आयात हुने कोटा वृद्धि भएपनि नियमित आयात हुन नपाउँदा माग र आपूर्तिबीचको सन्तुलन मिल्न सकेको छैन । हाल बजारमा दैनिक ३० केजी हाराहारीमा माग हुने गरेको सुनचाँदी व्यवसायीहरु बताउँछन् ।
नेपालमा आयात हुने सुन मध्ये सबैभन्दा धेरै दुबईबाट आउने गरेको छ । यसका साथै हङकङ, सिंगापुर, अष्ट्रेलिया लगायतका देशहरुबाट पनि सुनको आयात हुने गरेको छ ।
नेपालमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त २७ वटा वाणिज्य बैंकहरुलाई सुन आयात गर्ने अनुमति दिइएको छ । तिनै बैंकले पालैपालो ५०–५० किलो गरेर सुन नेपाल भित्र्याउने गरेका छन् ।
संसारको सबैभन्दा ठूलो सुनखानी साउथ अफ्रिकामा रहेको छ । त्यसको अलावा अमेरिका, चीन लागायत देशहरुमा पनि सुन खानी रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया