अफगानिस्तानबाट २८८ नेपालीलाई उद्धार गरी स्वदेश ल्याइयो

0
Shares

अफगानिस्तानलाई तालिबानीले नियन्त्रणमा लिएपछि त्यहाँ रहेका २८८ जना नेपालीको उद्धार गरिएको छ । पराराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट बुधबारसम्म २८८ जना नेपालीको उद्धार गरिएको जनाएको हो ।

मंगलबार र बुधबार अफगानिस्तानबाट कतार एयरवेजको जहाजबाट उक्त नेपालीको उद्धार गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मंगलबार विहान ११८ जना र राति ८४ जना तथा बुधबार बिहान ६१ जना र अपरान्ह २५ जना गरी बुधबार सम्म २८८ जना नेपाली नागरिकहरू अफगानिस्तानबाट नेपाल आएका हुन् ।

नेपाल आएका उनिहरुलाई अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड १९ को परीक्षण लगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ ।

अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृयामा रहेको मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानबाट अहिले सम्म श्रम स्वीकृत लिएर गएका तथा दुतावास र सञ्चार क्षेत्रमा कार्यरत नेपालीको उद्धार गरिएको मन्त्रालएकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

अफगानिस्तानलाई तालिबानीले नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाल सरकारले सुरुआत गरेको थियो । सोमबार भएको मन्त्रिपरिषद् बैठकले त्यहाँ रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको थियो ।

अफगानिस्तानको विकसित घटनाका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाई उनीहरुको उद्धार गर्न सरकारले शनिबार एक कार्यदल गठन गरेको थियो । परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलमा मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखहरु एवं अर्थ, गृह, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका राजपत्राङ्कित प्रथम श्रेणी वा सोसरहका सदस्य रहेका छन् ।

उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण सङ्कलनका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता गर्ने व्यवस्था गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

 

 

प्रकाशित मिति: ३ भाद्र २०७८, बिहिबार  ११ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।