तेह्रथुमका डा. सुरेन्द्रकुमार उप्रेती अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनलाई राज्यमन्त्री सरहको सुविधा सहित नियुक्त सल्लाहकारमा गर्ने निर्णय गरेको हो।
त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्ने डा. उप्रेतीले आर्थिक नीति विश्लेषणमा विशेष विज्ञता हासिल गरेका छन् । यसअघि कर्णाली प्रदेश सरकारको आर्थिक विज्ञका रूपमा पनि काम गरिसकेका उप्रेतीले त्रिभुवन विश्वविद्यालयबाट अर्थतन्त्रलाई विश्व व्यापार संगठनमा लैजाँदा त्यसले बढाउने लागत र पार्ने प्रभावका विषयमा विद्यावारिधि गरेका छन् ।
डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयअन्तर्गत नीति अनुसन्धान प्रतिष्ठानमा आर्थिक वृद्धिका मोडलहरुको अनुसन्धान र जनार्दन शर्मा ऊर्जामन्त्री हुँदा विद्युत् उत्पादन कम्पनीको विज्ञ सदस्यका रूपमा नियुक्त गरेका थिए ।
शर्मा ऊर्जामन्त्री हुँदा ‘उज्यालो नेपाल’ कार्यक्रम अन्तर्गत विद्युत उत्पादनका लागि स्थापना गरेको विद्युत उत्पादन कम्पनीको विज्ञ संचालकका रूपमा समेत उनले काम गरेका थिए । उनीसँग बुढीगण्डकी जलविद्युत आयोजना, नलसिंहगाड जस्ता ठूला परियोजनाहरुको अर्थविद्का रुपमा समेत काम गरेको अनुभव छ ।
उप्रेती अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अध्ययन गर्ने अमेरिकाको क्यालिफोर्नियास्थित टेट्राटेकमा पनि विज्ञका रूपमा काम गरिसकेका व्यक्ति हुन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया