सूचकसँगै कारोबार रकममा पनि उच्च गिरावट, तीन दिनमा १२२ अंक घट्यो नेप्से

0
Shares

शेयर बजारमा मौद्रिक नीतिको असरले बुधबार पनि नेप्से सूचकमा उच्च अंकको गिरावट आएको छ । मंगलबार नीतिमा गरिएको मार्जिक कर्जाको एकल ग्राहक सीमा १२ करोड नै यथावत राखेसँगै बुधबार त्यसको असरले बुधबारको बजारमा प्रत्यक्ष देखिएको छ ।

शेयर धितोकर्जामा अर्थमन्त्रीको आश्वासन सम्बोधन भएन, अधिकतम एक वर्षभित्र सीमाभित्र ल्याइसक्नुपर्ने

पछिल्लो तीन दिनमा मात्रै नेप्से सूचक १२२.१६ अंकले घटेको छ । गत बुधबार ३१९८.६० बिन्दुमा रहेको नेप्से बुधबार ३०७६.४४ बिन्दुमा झरेको हो । बिहीबार १८.२४ अंकले घटेको नेप्से मंगलबार ५६.०३ र बुधबार ४८.४२ अंकले घटेको छ । जनैपूर्णिमा र गाइजात्राका कारण साताको आइतबार र सोमबार नेप्सेबन्द रह्यो ।

बुधबार पनि नेप्से सूचक गिरावटले निरन्तरता पाएसँगै कारोबार रकम पनि सँगसँगै उच्च रुपमा घटेको छ । मंगलबार १६.१२ अर्ब बढीको कारोबार भएकोमा बुधबार ४.०३ अर्बलेघटेर १२.०९ अर्बको मात्र कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से सूचक १.५५ प्रतिशत अर्थात ४८.४२ अंकले घटेर ३०७६ दशमलव ४४ बिन्दुमा झरेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ९.७६ अंकले घटेर ५६७ दशमलव ९९ बिन्दुमा झरेको छ ।

बजार सूचक घटेसँगै लगानीकर्ताको सम्पत्ति एकैदिन ६७.६६ अर्बले घटेको छ । मंगलबार ४३ खर्ब ६६ अर्ब रहेको कुल बजार पूँजीकरण बुधबार घटेर ४२ खर्ब ९८ अर्बमा समेटिएको छ ।

आज कूल २२७ वटा कम्पनीको १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयर खरिद बिक्री हुँदा १२ अर्ब ९ करोड २१ लाख ३ हजार ५०४ रूपैयाँ बराबरको कारोबार भएको छ ।

स्टकका अनुसार कारोबारमा आउका १३ समूहमध्ये सूचकमध्ये सबै सूचक घटेका छन् । विकास बैंक, उत्पादन र निर्जीवन बीमाको सूचक २ प्रतिशतभन्दा धेरैले घट्दा बैंकिङ्ग, ब्यापार, होटल, अन्य, जीवन बीमा, म्युचुअल फण्ड, र लगानी सूचक पनि १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

बुधबार जीवन विकास लघुवित्त र आईसिएफसि फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  लघुवित्तको शेयरमूल्यमा १८ औं दिनमा सकारात्मक सर्किट लागेर प्रतिकित्ता ४ हजार ७२६ रूपैयाँ ३० पैसा पुगेको छ । ९१४ रुपैयाँ प्रतिकित्तामा कारोबार खुलेको कम्पनीको शेयरमूल्य ३ हजार ८१२ रुपैयाँ अर्थात ४१७ प्रतिशत बढेको हो । यस्तै आईसिएफसि फाइनान्सको ९.९९ प्रतिशतले मूल्य बढेर १ हजार १७६ रुपैयाँ पुगेको छ ।

यसैगरी माउन्टेन इनर्जीको मूल्य ७.६९ प्रतिशतले बढेर १ हजार ४०० रुपैयाँ पुगेको छ । दिब्यश्वरी हाइड्रोपावर, साधना लघुवित्त, गोर्खाज फाइनान्स, पन्चकन्या माइ हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक र प्रभु सेलेक्ट फण्डको इकाईमूल्य २ प्रतिशत धेरैले बढेको छ ।

खानीखोला हाइड्रोपावरको शेयरमूल्यमा बुधबार नकारात्मक सर्किट लागेर घटेको छ । कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले घटेर ३५७.३० रूपैयाँमा झरेको हो । जानकी फाइनान्स, जनररल इन्स्योरेन्स, नेपाल फाइनान्स, हिमालयन पावर पार्टनर, फस्ट माइक्रोफाइनान्स, रुरु जलविद्युत परियोजना, कामना सेवा विकास बैंक, एभरेष्ट इन्स्योरेन्स, र प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

बुधबार अरूण काबेलीको सर्वाधिक ४८.७१ करोडको शेयर कारोबार भएको छ । यस्तै रिडी हाइड्रोपावर ४८.७०, अरुण भ्याली ४६.७१, नेशनल हाइड्रो ३६.२८, आईसिएफसि फाइनान्सको ३५.९७ करोडको शेयर कारोबार भएको छ । कामना सेवा विकास बैंक, अपि पावर, हिमालयन डिष्टिलरी, महालक्ष्मी विकास बैंक र सेन्ट्रल फाइनान्स शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ९ भाद्र २०७८, बुधबार  १६ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।