समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वस्तिक लघुवित्तबीचको मर्जर सम्झौता तोडिएको छ ।
बुधबार बसेको समाज लघुवित्तको सञ्चालक समितिको ६७ औँ बैठकले मर्जर अघि नबढाउने निर्णय गरेको हो। यी दुवै लघुवित्तबीच गत वर्ष असोज ५ गते आपसमा गाभिने सम्बन्धी प्रारम्भिक सम्झौतामामा हस्ताक्षर भएको थियो।

२०७७ फागुन २० मा राष्ट्र बैंकले दुवैलाई गाभिन सैद्धान्तिक सहमति समेत दिएको थियो। सर्लाहीको मलंगवामा मुख्य कार्यालयको समाजले सिरहाको लहानमा मुख्य कार्यालय रहेको स्वस्तिकसँगको मर्जर तोडेको राष्ट्र बैंकलाई जानकारी गराएको छ।
समाजले गत जेठ ११ मा मर्जर प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको थियो । उक्त विशेष साधारणसभामा गणपूरक संख्या नपुगेपछि गत असार १० गते दोस्रो पटक विशेष साधारणसभा बोलाएको थियो।
कम्पनी ऐनको दफा ७३ को उपदफा ३ अनुसार विशेष साधारणसभामा २५ प्रतिशत प्रतिनिधित्वलाई गणपूरक मानिने व्यवस्था भएअनुसार कुल शेयरको ५५.४९ प्रतिशतको उपस्थिति रहेकोमा कुल उपस्थितिको ६६.६७ प्रतिशत र कुल शेयरपुँजीको ३७ प्रतिशत सेयरधनीबाट सैद्धान्तिक सहमतिमा उल्लेख भएअनुसार केन्द्रीय कार्यालय बर्दिबास महोत्तरी नभई स्वस्तिककै केन्द्रीय कार्यालय लहानमा राख्ने भएपछि समाजले मर्जर गर्न नसकिने जनाएको हो।
बहुमत शेयरधनीले लहानमा केन्द्रीय कार्यालय राख्न नसकिने जनाएको जानकारी समाजले राष्ट्र बैंकलाई दिएको हो। राष्ट्र बैंकले यही भदौ ५ मा मर्जर प्रक्रियालाई मूर्तरुप दिन यससम्बन्धी प्रस्ताव पारित गर्न पत्र काटेको थियो। समाजले त्यही पत्रको जवाफमा मर्जर तोडेको जनाएको हो। साथै समाज लघुवित्तले उक्त जानकारी नेप्सेमा समेत दिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया