
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघ ३ गते शिलान्यास गरेको काठमाडौंको चोभारमा सुख्खा बन्दरगाह अर्थात् ड्राइपोर्ट निर्माण निर्माणको अन्तिम चरणमा पुगेको छ ।
हिमाल सिमेन्टको नाममा रहेको १०८० रोपनीमध्ये २२० रोपनीमा १ अर्ब ८० करोड खर्चमा बन्दरगाह निर्माण भएको हो । जसमध्ये १ करोड ६० करोड बन्दरगाह निर्माणमा र बाँकी २० करोड कार्यालय निर्माणमा खर्च भएको छ ।
बन्दरगाह निर्माणको ठेक्का १ अर्ब ४० करोडको लागतमा नेपाली कम्पनी आशिष र चिनियाँ कम्पनी साक्षीको जोईन्ट भेन्चरले पाएको थिए । १८ महिनामा बनाउने सम्झौता गरिएपनि कोभिड र स्थानीय अवरोधका कारण निर्धारित समयभन्दा एक वर्ष ढिलो हुँदा लागत बढेर १ अर्ब ६० करोड खर्च भएको छ । विश्व बैंकको सहयोग समेतमा बन्दरगाह निर्माण भएको हो । २०७५ सालको जेठ महिनामै ठेक्का लागेर काम अघि बढेको उक्त बन्दरगाहको शिलान्यास ८ महिनापछि २०७५ माघमा मात्रै गरिएको थियो ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको केही प्राविधिक बाहेक अन्य सम्पूर्ण काम पूर्णरूपमा सम्पन्न भइसकेको बताउँदै अब भन्सार र क्वारेन्टाइन आए सुख्खा बन्दरगाह बसेपछि सञ्चालनमा आउने जानकारी दिए ।
उनले भने “बन्दरगाह सञ्चालनका लागि तयारी शुरू भइसकेको छ । उद्योग वाणिज्य, भन्सार इन्टरमोडेलले प्रक्रिया मिलाएर चाँडै नै बन्दरगाह सञ्चालनमा आउनेछ । बन्दरगाह सञ्चालनका लागि सरकारले निर्णय गर्नुपर्ने भएकाले आवश्यक छलफल भइरहेको छ । ”
बन्दरगाह सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र यससँग सम्बन्धित निकायहरूले छलफल गरिरहे पनि मिति तोकिएको छैन ।
उद्योग तथा वाणिज्य मन्त्रालय मातहतमा निर्माण भएको यो बन्दरगाह सञ्चालनमा आएपछि विदेशबाट आयात हुने वस्तु सीधै चोभार ल्याउन सकिनेछ । नेपालबाट निर्यात हुने वस्तु पनि यही बन्दरगाहबाट सबै प्रक्रिया पूरा गरी लैजान सकिने निर्देशक गजुरेलले जानकारी दिए । समितिले बन्दरगाह मार्फत् निर्यातलाई प्राथमितामा राखेर व्यापार घाटा कम गर्ने लक्ष्य लिएको छ ।
निजगढ-काठमाडौं द्रूतमार्ग, भारतसँगको रेलमार्ग, केरुङ रेलमार्ग र बाहिरी चक्रपथसँग बन्दरगाह जोडिने छ । व्यापारीले चोभार सुख्खा बन्दरगाहबाट नै सबै काम गर्न सक्ने छन् । आफ्नो आयातित सामानको भन्सार तिर्न कोलकता, वीरगञ्ज, विराटनगर जानुपर्ने बाध्यता त्यसपछि हट्नेछ ।
वीरगञ्ज, भैरहवा, विराटनगर, तातोपानी, रसुवाभन्सार हुँदै आउने सवारीसाधन सिधै चोभार आएर जाचँपास गर्न सक्ने भएका छन् । अहिले वीरगञ्ज, विराटनगर, भैरहवा, काँकडभित्ता, तातोपानी लगायतका स्थानमा बन्दरगाह सञ्चालनमा छन् ।
यस्तो छ संरचना
चोभार सुख्खा बन्दरगाहलाई मुख्यगरी तीन भागमा बाँडिएको छ । २२० रोपनीमा फैलिएको सुख्खा बन्दरगाहमा क्वारेन्टिन गोदाम ३ वटा, प्रशासनिक भवन ३ वटा, सवारी साधन चेकजाँच गर्ने ३ वटा संरचना निर्माण भएका छन् । बन्दरगाह हाताभित्र छिर्न फेरि मास्टरप्लान अन्तर्गत तीन वटै मुख्य गेटहरु निर्माण गरिएको छ ।

यस्तै बन्दरगाहमा पार्किङ यार्ड र कन्टेनर पार्किङ यार्ड निर्माण गरिएको छ । जहाँ ५०० कन्टेनर र ५०० सावरी साधन पार्किङ गर्न सकिन्छ । यसमा आवश्यक लाइटिङ सिस्टम, इलेक्ट्रिक सब स्टेसन तथा सीसी क्यामेराहरू पनि जडान भइसकेको छ । गतिविधिहरूको सुक्ष्म निगरानीका लागि सीसी क्यामेरा छ । ठूला मालबाहक सवारी साधनहरूका कारण निस्कने ध्वनी नियन्त्रणका लागि साउन्ड ब्यारियर राखिएको छ ।

यसैगरी १ हजार ३०० वर्गमिटरमा रहेको खुला जाँच क्षेत्रबाट सामान जाँच्ने, लोडअनलोडको सुविधा पाइनेछ भने नापतौल र नियन्त्रण कक्ष, पार्किङ पनि निर्माण गरिएको छ ।
हाल उद्योगीले विभिन्न भन्सार कार्यालयबाट जाँचपासको कार्य सकाएर मात्रै मालबाहक गाडी उपत्यका ल्याउनुपर्ने व्यवस्था छ । आगामी दिनमा नाकाको भन्सारमा सामान्य प्रकृया पुराएर सिधै काठमाडौं आएर भन्सारको कार्य पूरा गर्न सकिनेछ ।
नाम सुख्खा बन्दरगाह भएपनि त्यस वरिपरीका १० हजार रुख रोपेर हरियाली पारिने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया