
शेयर लगानीकर्ताका लागि यो साता सुखद रहेन । चार दिन कारोबार भएको योे साताको बजारमा बुधबार मात्र १ अंकको सामान्य सुधार देखियो भने तीन कारोबार दिन उच्च अंकको गिरावट आयो ।
केन्द्रीय बैंकले मौद्रिक नीतिमा व्यवस्था गरिएको शेयर धितो कर्जामा १२ करोडको सीमा लागू भएपछि शेयर बजार प्रभावित भएको हो । यसले सातामा १६७.१६ अंकको गिरावट आएको छ । गत साता ३०९४.०५ अंकमा रहेको नेप्से साताको अन्तिममा २९२६.८९ बिन्दुमा बन्द भएको हो ।
यस साता शेयर बजारमा ४७ अर्ब ७६ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसअनुसार दैनिक औसतमा ११.९४ अर्ब रुपैयाँको कारोबार भएको देखिन्छ । गत साता दैनिक १३.८७ अर्बको शेयर कारोबार भएको थियो । यो साता आइतबार १५.६५ अर्ब, मंगलबार १३.२५, बुधबार ९.३५ र बिहीबार साता कै सबैभन्दा थोरै ९.३५ अर्ब रुपैयाँको शेयर खरीद बिक्री भएको हो । सोमबार कृष्णअष्टमीको सार्वजनिक विदाका कारण शेयर बजार खुला भएन ।
मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाए
यो साता मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै २८.७४ प्रतिशतले बढको छ । गत साता ३९०.७० रुपैयाँ रहेको लघुवित्तको शेयरमूल्य साताको अन्तिममा ५०३ रुपैयाँ पुगेको हो ।
यसैगरी चन्द्रागिरी हिल्सको ६.६४ प्रतिशत बढेर १५९० रुपैयाँ, कर्णाली डेभलपमेन्ट बैंकको ५.३० प्रतिशत बढेर ५३६ रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंकको ३.३८ प्रतिशत बढेर १०६९ रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य २.७१ प्रतिशत बढेर ४८८.९० रुपैयाँ पुगेको छ ।
नबिल ब्यालेन्स्ड फण्ड, मितेरी डेभलपमेन्ट बैंक, जानकी फाइनान्सको २ प्रतिशत माथि र खानीखोला जलविद्युत र डिप्रोक्स लघुवित्तको मूल्य १ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आईसीएफसी फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाए
उता आईसीएफसी फाइनान्सको शेयरमूल्य यस साता सर्वाधिक १७.०८ प्रतिशतले घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार ११५९ मा खुलेको फाइनान्सको शेयर ९६१ रुपैयाँमा झरेको हो ।
यस्तै माउन्टेन इनर्जीको १६.३६ प्रतिशत घटेर १२८० रुपैयाँ, गोर्खाज फाइनान्सको १५.९५ प्रतिशत घटेर ११८६ रुपैयाँ, बरुण हाइड्रोपावरको १४.१८ प्रतिशत घटेर ५७५ रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको मूल्य १३.९८ प्रतिशतले घटेर प्रतिकित्ता ८०० रुपैयाँमा झरेको छ ।
यसैगरी सेन्ट्रल फाइनान्स, माउन्टेन हाइड्रोपावर नेपाल, रुरु जलविद्युत, र सिंगटी हाइड्रोपावरको मूल्य १३ प्रतिशतभन्दा धेरैले घटेको छ भने राधी विद्युत कम्पनीको मूल्यपनि १२ प्रतिशतले घटेको छ ।
होटल तथा पर्यटनको सूचक बाहेक सबै घट्यो
समुहगत सूचकका आधारमा हेर्दा यो साता होटल तथा पर्यटनको सूचक १.१९ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ ।
यो साता जलविद्युत सूचक सबैभन्दा बढी ९.५७ प्रतिशतले घट्दा फाइनान्स ८.७१, विकास बैंक ८.२२, र लगानी सूचक ७.४२ प्रतिशतले घटेको छ । अन्य, निर्जीवन बीमा र जीवन बीमा पनि ६ प्रतिशत हाराहारीमा घटेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया