नेपाल राष्ट्र बैंकको शेयर धितोकर्जाको सीमाका कारण घट्दै आएर आइतबार ‘प्यानिक सेल’ का कारण ३.७० प्रतिशत अर्थात १०८ अंकले घटेको शेयर बजारमा सोमबारनै ५.७६ प्रतिशत अर्थात १६१.९४ अंकको उच्च वृद्धि देखिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले टेलिफोन मार्फत कुराकानी गर्दै पूँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेपछि भोलिपल्टै बजार यु टर्नमा बजार बाउन्स ब्याक भएर फर्किएको हो ।
अर्थमन्त्री शर्माले सो क्रममा कहाँ के सुधार गर्नुपर्ने हो, त्यो गरेर पूँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भनेपछि आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता गभर्नरले जनाएका थिए ।
सोमबार ७५ कम्पनीको शेयरमूल्य ९ प्रतिशत धेरैले बढ्यो । यसदिन नेप्से सूचक १६१.९४ अंक (५.७४ प्रतिशत) बढेर २९८० दशमलव ७८ बिन्दुमा पुगेको छ । ठूला कम्पनीके सूचक मापक सेन्सेटिभ इण्डेक्स ६.०२ प्रतिशतले बढेर ५५३.४० बिन्दुमा पुगेको छ ।
सोमबार ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । दिनभर २२४ कम्पनीको १ करोड ७९ लाख २२ हजार ५८८ कित्ता शेयर १ लाख ९ हजार १८२ वटा संख्यामा खरिद बिक्री भए ।
नेप्से उच्च दरमा बढपछि ४५ कम्पनीको शेयरमूल्य १० प्रतिशतले तथा थप ३० कम्पनीको मूल्य ९ प्रतिशत बढीले बढेको हो । आज कारोबारमा आएका २२४ कम्पनीमध्ये ८ कम्पनीको मात्र शेयरमूल्य घटेको छ भने २११ कम्पनीको मूल्य बढेको छ । ५ कम्पनीको मूल्य स्थीर रहेको छ ।
कारोबारमा आएका १३ वटै समूहगत सूचक बढेका छन् । विकास बैंक, वित्त र जलविद्युत समूहको परिसूचक ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
केही दिनयता उच्च कारोबार हुँदै आएको अरुण भ्याली हाइड्रोपावरको सोमबार पनि ४६.३० करोडको शेयर खरीद बिक्री भएको छ । हिमालयन डिष्टिलरी, अपर तामाकोशी र नेशनल हाइड्रोपावर कम्पनीको २० करोड बढीको शेयर कारोबार भएको छ । आईसीएफसी फाइनान्स, एनआईसी एशिया बैंक, नबिल बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, र रिडी हाइड्रोपावर धेरै कारोबार हुने शीर्ष दश कम्पनीमा समेटिएका छन् ।
यसदिन ४५ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबै इक्वीटी शेयरको मूल्य वृद्धि भएको छ । जसमा सबैजसो कम्पनी जलविद्युत, विकास बैंक र फाइनान्स समुहका छन् । शेयरमूल्य घट्ने कम्पनीमा डिबेञ्चर र सामुहिक लगानी कोष योजनाका इकाईहरु रहेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया