नेपाल भित्रिएको प्रत्यक्ष बैदेशिक लगानी मध्ये एक खर्ब ११ अर्ब १७ करोड रुपैयाँ औद्योगिक क्षेत्रमा रहेको छ । यो रकम नेपालमा भित्रिएको कुल वैदेशिक लगानीको ५६ प्रतिशत हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा कुल १९८ अर्ब ५२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी कायम छ । यो लगानीबाट सो आर्थिक वर्षमा विभिन्न वैदेशिक लगानीकर्ताले १२ अर्ब ९० करोड रुपैयाँ लाभांश फिर्ता लगेका छन् ।
केन्द्रीय बैंकले आर्थिक वर्ष २०७६/७७ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल १९८ वटा कम्पनीलाई नमूनाको रुपमा लिएर गरेको अध्ययन अनुसार आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ८.५ प्रतिशतले वृद्धि भएको हो ।
केन्द्रीय बैंकको अध्ययन अनुसार कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५४.४ प्रतिशत, रिजर्भ ३३.८ प्रतिशत र कर्जाको अंश ११.८ प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश २२.६ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि देखिएको छ ।
त्यसै गरी, २०७७ असार मसान्तसम्ममा नेपालमा ५२ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् ६२ अर्ब ४५ करोड र त्यसपछि क्रमशः चीनबाट ३० अर्ब ९७ करोड, सेन्ट किष्टस एण्ड नेभिसबाट १५ अर्ब २७ करोड, आयरल्याण्डबाट १२ अर्ब ९३ करोड र सिङ्गापुरबाट १२ अर्ब ४३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।
नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५६.० प्रतिशत औद्योगिक क्षेत्रमा र ४३.९ प्रतिशत सेवा क्षेत्रमा रहेको अध्ययनले देखाएको छ । औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.३ प्रतिशत र जलविद्युत क्षेत्रमा २७.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसै गरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.३ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिन्छ ।
आर्थिक वर्ष सन २०१९/२० मा उत्पादन क्षेत्रमा आएको प्रत्यक्ष बैदेशिक लगानीले ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ लाभांश फिर्ता लगेको छ । त्यसैगरी जलविद्युत, गयस तथा पानी उद्योगबाट ३ करोड २३ लाख रुपैयाँ लाभांश फिर्ता लगेका छन । सो आवमा निर्माण क्षेत्रबाट मात्र ५ करोड रुपैयाँ लाभांश विदेशी लगानीकर्ताले लगेका छन् ।
सो आर्थिक वर्षमा यातायात तथा सञ्चार क्षेत्रमा भएको बैदेशिक लगानीबाट ४१ लाख रुपैयाँ लाभांश बाहिरीएको छ । सो अवधिमा वित्तीय मध्यस्तकर्ताको रुपमा रहेको क्षेत्रमा भएको बैदेशिक लगानीले ४ अर्ब ७९ करोड ९६ लाख रुपैयाँ लाभांश फिर्ता लगेको छ ।
तर, स्वस्थ्य क्षेत्रमा भएको वैदशिक लगानीले भने २३ लाख रुपैयाँ मात्र लाभांश लगेको छ । त्यसैगरी होटल क्षेत्रले ४ करोड २९ लाख, शैक्षिक क्षेत्रबाट ३४ करोड ७७ लाख र अन्य क्षेत्रबाट ९ करोड ९१ लाख रुपैयाँ लाभांश लगेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया