गत आर्थिक वर्ष २०७७/७८ को समाप्तीसँगै सूचीकृत कम्पनीहरुलाई लाभांश घोषणाको चटारोले छोपेको छ । गत आर्थिक वर्ष समाप्त भएको दुई महिना सकिन लाग्दा नेप्सेमा सूचीकृत कम्पनीमध्ये ३० ले हालसम्म लाभांश घोषणा गरेका छन् ।
लाभांश घोषणा गर्नेमा सामुहिक लगानी कोषका योजना सबैभन्दा अगाडि रहेका छन् ।
हालसम्म २० वटा सामुहिक लगानी कोषका योजनाले लाभांश घोषणा गरेका छन् । त्यसमध्ये २ वटा फण्ड खुलामुखी योजना भएकाले नेप्सेमा सूचीकृत रहेको छैन भने १८ वटा सूचीकृत छन् ।
सामुहिक लगानी कोषपछि धेरै जलविद्युत कम्पनीको लाभांश घोषणा भएको छ । शुक्रबारसम्म ६ वटा जलविद्युत कम्पनीले गत आवबाट लाभांश प्रस्ताव गरेका छन् ।
त्यसपछि पाँचवटा लघुवित्त कम्पनीले लाभांश घोषणा गरेका छन् । उत्पादनमुलक समुहबाट एक कम्पनीले लाभांश घोषणा गरेको छ । यसरी सूचीकृत ३० कम्पनीको लाभांश घोषणा भएको छ ।
सूचीकृत कम्पनी मात्र होइन सूचीकृत नभएका अन्य केही सूचीकृत बैंकका सहायक कम्पनी मर्चेन्ट बैंकरहरुले समेत लाभांश प्रस्ताव गरेका छन् । हालसम्म पाँच मर्चेन्ट बैंकिङ्गले लाभांश प्रस्ताव गरेका छन् ।
सामुहिक लगानी कोष
सामुहिक लगानी कोष योजनामध्ये हालसम्म २ खुलामुखी र १८ सूचीकृत कम्पनीले लाभांश घोषणा गरेका छन् । जसमध्ये तीनहरु फण्डहरु एनआईबिएल सहभातिा फण्ड, सनराइज फस्ट र एनआईबिएल प्रगति फण्डले ५० प्रतिशत लाभांश वितरण गरेका छन् ।
यस्तै सिटिजन्स म्युचुअल फण्ड १, सिटिजन्स म्युचुअल फण्ड २ र नबिल इक्वीटी फण्डले समान ४० प्रतिशत तथा एनआईबिएल समृद्धिफण्ड १, नबिल ब्यालेन्स्ड फण्ड २, र लक्ष्मी इक्वीटी फण्डले ३५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेका छन् ।
सानिमा इक्वीटी फण्डले ३३ प्रतिशत प्रस्ताव गरेकोमा अन्य पाँच फण्डहरु एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, सिद्धार्थ इक्वीटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २, र एनएमबि ५० ले समान ३० प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।
यसैगरी लक्ष्मी इक्वीटी फण्डले २५, एनएमबि हाइब्रिड फण्ड एल १ ले २० प्रतिशत, एनआईसी एशिया डायनामिक डेप्थ फण्डले १० प्रतिशत, कुमारी इक्वीटी फण्डले ५ प्रतिशत र सानिमा लार्ज क्याप फण्डले ४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
जलविद्युत कम्पनी
शुक्रबारसम्म गत आव २०७७/७८ बाट ६ जलविद्युत कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । ङादी ग्रुप पावरको सबैभन्दा धेरै २० प्रतिशत बोनस सहित २१.०५ प्रतिशत रहेको छ ।
यसैगरी अरुण काबेली पावरको १७.८९ प्रतिशत, अपि पावर ११.०५, सिनर्जी पावरको १०.५३ प्रतिशत, रुरु जलविद्युत परियोजनाले अघिल्लो आव २०७६।७७ बाट १०.५३ प्रतिशत नगद तथा आव २०७७।७८ बाट १० प्रतिशत बोनस सहित १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरिएको छ ।
यस्तै सानिमा माइ हाइड्रोपावरले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
लघुवित्त कम्पनी
हालसम्म पाँच लघुवित्त कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । साधना लघुवित्तले सबैभन्दा धेरै २५ प्रतिशत बोनस सहित २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
यस्तै स्वरोजगार लघुवित्तको २५ प्रतिशत, डिप्रोक्स लघुवित्तको २० प्रतिशत बोनस सहित २१.०५ प्रतिशत, मिर्मिरे लघुवित्तको २० प्रतिशत र फस्ट माइक्रोफाइनान्सको १० प्रतिशत बोनस सहित १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरिएको छ ।
उत्पादनमुलक कम्पनीको रुपमा सूचीकृत युनिलिभर नेपाल लिमिटेडले गत आवको नाफाबाट सबैभन्दा धेरै ६५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
पाँच मर्चेन्ट बैंकको लाभांश
हालसम्म पाँचवटा मर्चेन्ट बैंकरले लाभांश प्रस्ताव गरेका छन् । एनआईसी एशिया क्यापिटलले सबैभन्दा धेरै ४८ प्रतिशत लाभांश वितरण गरेको छ भने एनएमबि क्यापिटलले ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
यस्तै एनआईबिएल एस क्यापिटलले २६ प्रतिशत, सानिमा क्यापिटलले २५ प्रतिशत र मुक्तिनाथ क्यापिटलले १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया