प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘विनियोजन विधेयक, २०७८’ स्वीकृत गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो ।
बैठक चलिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले अवरोध कायमै राखेका थिए । उक्त प्रस्तावलाई स्वीकृत गर्नुपूर्व बैठकमा विधेयक उपर सैद्धान्तिक छलफल भई उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएका थिए ।
सैद्धान्तिक छलफलमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र भाग लिएका थिए ।
शोक प्रस्ताव पारित
प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाका पूर्वसदस्य रुक्म शमशेर राणा र संविधानसभा सदस्य मानबहादुर महतोको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाद्वारा प्रस्तुत सो शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । विसं २०४८ मा राष्ट्रियसभामा मनोनीत सदस्य स्वर्गिय राणा भारतका लागि पूर्व राजदूत समेतथिए। उनी राष्ट्रिय खेलकूद परिषद्को पूर्व सदस्यसचिव समेत थिए । उनको ८६ वर्षको उमेरमा यही भदौ २७ गते निधन भएको थियो ।
संविधानसभा सदस्य महतोको ७२ वर्षको उमेरमा यही भदौ २७ मा निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी असोज ४ गते बिहान ११ बजे बस्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया