पाँच लघुवित्त कम्पनीको लाभांश प्रस्ताव, अघिल्लो आवभन्दा चारले धेरै प्रस्ताव गरे

0
Shares

नेप्सेमा सूचीकृत ५३ लघुवित्त कम्पनीहरुमध्ये असोज १ गते शुक्रबारसम्ममा पाँच वटा लघुवित्त कम्पनीहरुले मात्र गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

हालसम्म शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गर्ने कम्पनीहरुमा साधना लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था, र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था गरी पाँच कम्पनी रहेका छन् । 

लाभांश प्रस्ताव गरेका कम्पनीमध्ये साधना लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश गरी २६.३२ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्तै स्वरोजगार लघुवित्तले शेयरधनीलाई २५ प्रतिशत, डिप्रोक्स लघुवित्तले २० प्रतिशत बोनस र १ दशमलव ०५ प्रतिशत नगद लाभांश गरी २१.०५ प्रतिशत र मिर्मिरे लघुवित्तले २० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश घोषणा गरेका कम्पनीमध्ये फस्र्ट माइक्रोफाइनान्सले सबैभन्दा कम १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५३ प्रतिशत गरी १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

पाँचओटै कम्पनीको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।

अघिल्लो वर्ष कति बाँडेका थिए ?

गत आवबाट प्रस्ताव गरिएको लाभांश हेर्दा पाँच ओटा कम्पनीमध्ये चार वटा लघुवित्त कम्पनीको लाभांश बढेको छ भने फर्स्ट माइक्रोफाइनान्सको घटेको छ ।

अघिल्लो आव २०७६।७७ बाट साधना लघुवित्तले १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९५ प्रतिशत नगद लाभांश गरी १८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यसैगरी स्वरोजगार लघुवित्तले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १३.३९ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६५ प्रतिशत नगद लाभांश गरी १४.०४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

डिप्रोक्स लघुवित्तले आव २०७६।७७ मा १५ प्रतिशत बोनस र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश गरी २० प्रतिशत लाभांश शेयरधनीलाई वितरण गरेको थियो ।

यस्तै आव २०७६।७७ बाट मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई ९.१९९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४८ प्रतिशत नगद लाभांश गरी ९.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

फर्स्ट माइक्रोफाइनान्सले ९.५० प्रतिशत बोनस र कर प्रयोजन सहित ४.१८४२ प्रतिशत नगद गरी १३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २ आश्विन २०७८, शनिबार  १४ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।