निजी क्षेत्रका उद्योगसँग प्रतिस्पर्धा गर्न हेटौंडा सिमेन्टले प्रतिबोरा ४७ ले घटायो मूल्य

0
Shares

गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले निजी क्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न सिमेन्टको मूल्य घटाएको छ ।

निजीक्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा ४७ घटाएर ७०० दुई रुपैयाँमा बिक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिए ।

यसअघि प्रतिबोरा ७४९ मा सिमेन्ट बिक्री हुँदै आएको थियो । निजी क्षेत्रबाट सञ्चालित हेटौँडाका सिमेन्ट उद्योगले सिमेन्टको बिक्री मूल्य कम गरेकाले यहाँको मूल्य पनि घटाइएको उद्योग प्रशासनले जनाएको छ ।

अब मासिक रुपमा बजारको माग र उत्पादनको आधारमा निजी क्षेत्रका उद्योगले निर्धारण गरेको मूल्यसँग प्रतिस्पर्धा गर्नेगरी मूल्य तोकिने बताइएको छ ।

हेटौंडामा रहेको ऋद्धिसिद्धि सिमेन्ट उद्योगले ओपिसी सिमेन्ट प्रतिबोरा ७०० सय र शिबम् सिमेन्ट उद्योगले ओपिसी सिमेन्ट प्रतिबोरा ६८० कायम गरी बिक्री गर्दै आएका छन् । यस उद्योग गत र अघिल्लो आर्थिक वर्षमा कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र बिक्री गर्न नसकी घाटामा परेको महाप्रबन्धक सिंहको भनाइ थियो ।

प्राप्त जानकारी अनुसार यस उद्योगलाई आर्थिक वर्ष २०७६/७७ मा २४ करोड र २०७५/७६ मा १६ करोड घाटा परेको थियो । लामो समयदेखि उद्योगको उपकरण जीर्ण भएर पटक–पटक बिग्रिनाका साथै विगत दुई वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र बिक्री गर्न नसकिएको उद्योगका प्राविधिकको भनाइ छ ।

निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न पटक–पटक योजना र कार्यक्रम ल्याइए पनि कार्यान्वयनमा समस्या हुने गरेको उद्योगका प्राविधिकको भनाइ छ ।

उद्योगले आफ्नै खानीबाट चुनढुङ्गा, रातो माटोलगायत कच्चा पदार्थ मार्फत सिमेन्ट उत्पादन गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० आश्विन २०७८, आइतबार  १२ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।