भन्सार कार्यालय वीरगञ्जले दुई महिनामा उठायो आठ अर्ब राजस्व

0
Shares

सुख्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय वीरगञ्जले चालू आर्थिक वर्ष २०७८/०७९ को पछिल्लो दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

पर्साको सिरिसियामा रहेको यहाँ विभिन्न मुलुकबाट भारतको कोलकाता बन्दरगाह हुँदै रेलमार्गबाट कन्टेनरमार्फत नेपालमा सामग्री भित्रिन्छ । यहाँ एकपटकमा ९० वटासम्म कन्टेनर मार्फत विविध सामग्री नेपालमा आउने गर्दछ ।

गत साउन र भदौमा कूल सात अर्ब सात करोड ५३ लाख ५६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएको थियो । त्यसमा लक्ष्यभन्दा २०.९६ प्रतिशतले वृद्धि भई कूल आठ अर्ब ५५ करोड ८१ लाख राजस्व सङ्कलन भएको छ ।

लामो समयको कोभिड–१९ को असहज अवस्था विस्तारै सुधार हुँदै जाँदा भारतसहित तेस्रो मुलुकबाट नेपालमा पछिल्लो समय सामग्रीको आयात बढेकाले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको कार्यालय प्रमुख डा. लालबहादुर खत्रीले जानकारी दिए।

बढी राजस्व सङ्कलन हुनेमा भन्सार महसुल पैठारीतर्फ कूल तीन अर्ब ९० करोड ८२ लाख ९६ हजार र मूल्य अभिवृद्धि करतर्फ कूल तीन अर्ब ९८ करोड ७६ लाख ८५ हजार ६७१ रुपैयाँ सङ्कलन भएको छ ।

यस नाकामा विशेष गरी भारतसहित जापान, अमेरिका, बेलायत, इजरायल, दक्षिण कोरिया, खाडी क्षेत्रका विभिन्न देशबाट सामग्री आयात हुन्छ । ठूला उद्योग कलकारखानाका लागि आवश्यक कच्चा पदार्थ, सवारी साधन, उपकरण तथा सामग्री, मदिराजन्य पदार्थ, तयारी पोशाक लगायत सामग्री तेस्रो मुलुकबाट भित्रिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ११ आश्विन २०७८, सोमबार  १२ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।