जीवन बीमा कम्पनीद्धारा दुई महिनामा ६.३८ अर्बको नयाँ व्यवसाय विस्तार

0
Shares

जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको २ महिनामा ६ अर्ब ३८ करोड रुपैयाँको नयाँ जीवन बीमा व्यवसाय विस्तार गरेका छन् ।

वैदेशिक रोजगार बीममशुल्क सहित दुई महिनामा कुल २८ अर्ब १४ करोड रुपैयाँको व्यवसाय विस्तार भएकोमा नयाँ व्यवसायको हिस्सा २२.६७ प्रतिशत रहेको छ । भदौसम्म २१ अर्ब ५७ करोड नविकरण शुल्क संकलन भएको छ ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले साउन र भदौमा ६ अर्ब ३८ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् । जसमध्ये भदौमा मात्र कम्पनीहरुले ३ अर्ब ६४ करोडको प्रथम बीमाशुल्क संकलन गरेका हुन् । गत साउनमा २ अर्ब ७३ करोड बीमाशुल्क संकलन भएको थियो ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको छ । नेपाल लाइफले दुई महिना अवधिमा १ अर्ब १८ करोड रुपैयाँ प्रथम बीमाशुल्क उठाएको हो ।

नेपाल लाइफपछि नेशनल लाइफले दोस्रो ठूलो (६६ करोड रुपैयाँ) प्रथम बीमाशुल्क संकलन गरेको छ भने सिटिजन्स लाइफले ५४ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

भदौसम्ममा रिलायबल नेपाल लाइफले ४३ करोड, एलआईसीले ४१ करोड, राष्ट्रिय बीमा संस्थानले ३८ करोड, युनियन लाइफले ३७ करोड, प्रभु लाइफले २८ करोड, मेट लाइफले २७ करोड, एशियन लाइफले २५ करोड, आईएमई लाइफले २४ करोड, सूर्या लाइफ २३ करोड, ज्योति लाइफले २२ करोड र रिलायन्स लाइफले २१ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् ।

पाँच जीवन बीमा कम्पनीहरुले दुई महिनामा २० करोडभन्दा कम प्रथम बीमाशुल्क उठाएका छन् । यस अवधिमा प्राइम लाइफ र सन नेपाल लाइफले समान १७ करोड, सानिमा लाइफ १६ करोड, महालक्ष्मी लाइफले ११ करोड र गुराँस लाइपmले सबैभन्दा कम १० करोड रुपैयाँ मात्र प्रथम बीमाशुल्क संकलन गरेको छ ।

प्रथम बीमाशुल्क भनेको के हो ?

प्रथम बीमाशुल्क भनेको कम्पनीहरुले नयाँ ग्राहकहरुबाट संकलन गर्ने पहिलो प्रिमियम (एफपिआर) रकम हो । यसरी बीमा कम्पनीहरुले बिक्री गरेको सुरुवातको किस्ता वापत प्राप्त हुने रकम नै प्रथम बीमाशुल्क हो ।

बीमा कम्पनीहरुमा ग्राहकले बीमालेख खरीद गर्दा सुरुमा पहिलो किस्ता वापतको प्रिमियम तिर्छन् । त्यस्तै, थप प्रिमियम भने १ महिना ३ महिना, ६ महिना वा १ वर्षमा तिर्ने गरी खरीद गरेका हुन्छन् । बीमा कम्पनीहरुले दोस्रो वा सो भन्दा पछि संकलन गर्ने बीमाशुल्कलाई भने नवीकरण बीमाशुल्क भनिन्छ ।

यसरी पहिलो किस्ता (प्रथम बीमाशुल्क) वापत संकलन हुने प्रिमियम र नविकरण बीमा वापत प्राप्त हुने प्रिमियम शुल्कलाई जीवन बीमा कम्पनीहरुको वित्तीय विवरणमा देखाउने तरिका फरकरफरक हुन्छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ आश्विन २०७८, सोमबार  १३ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।