वाणिज्य बैंकका लाभांश घोषणामा ढिलाई, हालसम्म चारले मात्र गरे प्रस्ताव

0
Shares

वणिज्य बैंकहरुको लाभांश घोषणामा यो वर्ष ढिलाई भएको छ । विगतका वर्षहरुमा आधा दर्जन बढी वाणिज्य बैंकहरुले शेयरधनीलाई दशैं अगावै लाभांश घोषणा तथा पारित गर्ने गरेकोमा यो वर्ष भने ढिलाई भएको हो ।

हालसम्मको लाभांश प्रस्तावलाई हेर्ने हो भने यो वर्ष कुनैपनि बैंकले आफ्ना लगानीकर्तालाई दशैं खर्च दिनसक्ने अवस्था देखिँदैन ।

असोज १२ गते मंगलबारसम्म चार वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका छन् ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंक सूचीकृत रहेको छैन भने २६ नेप्सेमा सूचीकृत छन् ।  गत आवको नाफाबाट सबैभन्दा पहिले माछापुच्छ्रे बैंकले असोज ६ गते ४ बजे लाभांश घोषणा गरेकोमा पछ्ल्लिो पटक मंगलबार कुमारी बैंकले गत आवको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंक सूचीकृत रहेको छैन भने २६ नेप्सेमा सूचीकृत छन् । गत आवबाट सानिमा बैंकले १७ प्रतिशत बोनस र ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै सिटिजन्स बैंकले १२.९१ प्रतिशत बोनस र ३.०९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।  गत आवबाट माछापुच्छ्रे बैंकले १३.३० प्रतिशत बोनस र ०.७० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने कुमारी बैंकले ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

अघिल्लो आवमा बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा छिटो हुने गरेको थियो । केही बैंकले शेयरधनीहरुका लाागि दशैं अगावै लाभांश खुवाउने गरेका थिए । तर नेपाल राष्ट्र बैंकले कोभिड प्रभावका कारण गत भदौ १५ गतेसम्मको नाफा नोक्सान हिसाबलाई आधार मानेर गत आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गर्न पाउने व्यवस्था गर्दा समेत बैंकहरुको लाभांश घोषणामा ढिलाई भएको हो ।

नेपाल राष्ट्र बैंकले इजाजतपत्र बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृति गर्ने सम्बन्धी कार्यविधि, २०७७ मा पहिलो संशोधन गर्दै भदौ १५ गतेसम्मको नाफा नोक्सानलाई आधार मान्नसक्ने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को लागि इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले सो आर्थिक वर्षको वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था गरेको छ ।

यस्तो नगद लाभांश इजाजत प्राप्त संस्थाको २०७८ असार मसान्तसम्म कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुन नहुने तथा खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पूँजीको ५ प्रतिशतभन्दा कम भएका संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ ।

चार वाणिज्य बैंक बाहेक हालसम्म एक विकास बैंक, ६ लघुवित्त कम्पनी, सात हाइड्रोपावर, एक जीवन बीमा कम्पनी, दुई उत्पादनमुलक र एक लगानी उपसमुहमा सूचीकृत गरी १८ वटाले लाभांश घोषणा गरेका छन् । मंगलबारसम्म २२ सूचीकृत कम्पनीले लाभांश प्रस्ताव गरेका छन् ।

यस्तो थियो अघिल्लो आवको लाभांश

गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेका चार बैंकमध्ये तीन वाणिज्य बैंकको लाभांश अघिल्लो आवभन्दा बढेको छ भने एक बैंकको घटेको छ ।

सानिमा, सिटिजन्स, माछापुच्छ्रे बैंकको लाभांश बढेको हो भने कुमारी बैंकको लाभांश अघिल्लो आवभन्दा गत आवमा घटेको हो ।

लाभांश घोषणा गरेका चार बैंकमध्ये अघिल्लो आव २०७६/७७ बाट सानिमा बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस र ३.६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै सिटिजन्स बैंकले चुक्ता पूँजीको ८ प्रतिशत बोनस र ३ प्रतिशत नगद लभांश, माछापुच्छ्रे बैंकले ७.०३ प्रतिशत बोनस र ३.३७ प्रतिशत नगद लाभांश र कुमारी बैंकले १०.८५ प्रतिशत बोनस र ३.१५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ आश्विन २०७८, मंगलबार  १३ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।