इन्टरनेटको तार काट्दा आइपर्ने समस्याको जिम्मेवारी प्राधिकरणले लिनुपर्छः आइस्पान अध्यक्ष पराजुली

0
Shares

इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का अध्यक्ष सुधिर पराजुलीले अत्यावश्यक सेवाको रुपमा रहेको इन्टरनेटको तार काट्दा आइपर्ने समस्याको जिम्मेवारी नेपाल विद्युत प्राधिकरणले लिनुपर्ने बताएका छन् ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालले काठमाण्डौंमा आयोजना गरेको नेपालमा सूचना प्रविधिको प्रयोगको अवस्था र चुनौती विषयक कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले प्राधिकरणले विद्युत पोलको भाडा बढाए आफूहरु इन्टरनेटको मूल्य बढाउन बाध्य हुने बताए ।

उनले भने, “इन्टरनेट बिना आजको समयमा केही पनि चल्दैन । हामीले नेपाल विद्युत प्राधिकरणसँग लिखित रुपमा इन्टरनेटको मूल्य नबढ्ने गरी समस्या समाधान गरौँ भनेर संवाद अगाडि बढाइरहँदा प्राधिकरण भने एकलौटी रुपमा इन्टरनेटको तार काट्छु भनेको छ । हामीलाई १५ गतेको समय दिएको छ । अबको ३ दिनमो के गर्ने ? यसबाट सेवा अवरुद्ध भएको खण्डमा त्यसको जिम्मेवारी समेत उहाँहरूले नै लिनुपर्नेछ ।”

नेपालमा अहिले चलिरहेको इन्टरनेटमा भारतका दुई ओटा कम्पनी एयरटेल र टाटाको वर्चश्व रहेकाले ती कम्पनीबाट नेपालमा आउने इन्टरनेट महँगो हुने गरेको उनले बताए । अहिले इन्टरनेट स्लो हुनुको कारण विभिन्न ठाउँमा भएको तारको समस्या रहेको पनि पराजुलीले दाबी गरे ।

कार्यक्रममा नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बढेको पोलभाडा नघटाउने बताउँदै सेवाप्रदायकसँगको सहकार्यमा अघि बढ्न सकिने बताए ।

उनले भने ‘ अहिले हामीले पोलको नयाँ भाडदर राखेका छौँ । त्यो रेट हामीले पैसा धेरै उठाउन भनेर राखेको होइन । बढेको पोलभाडाबाट विद्युत प्राधिकरणको आम्दानी २५ करोडबाट ५० करोडमा मात्रै बढ्छ । ’

अहिले हरेक पोलमा हरेक व्यक्ति तथा संस्थाले केवल तान्ने गरेका र पोलमा रहेको ९५ प्रतिशत केवल काम नलाग्ने अवस्थामा रहेको उनले बताए । नयाँ केबलको तार टाङदा पुरानोलाई ननिकाल्ने, अव्यवस्थित पार्ने र विभिन्न घटना निम्तिने गरेको घिसिङको भनाई छ ।

धेरै सेवा प्रदायकहरुले विद्युत प्राधिकरणको पोल प्रयोग गर्दा पोल ढल्ने अवस्थामा पुगेकाले त्यस्तो स्थीति नहोस् भनेर पनि मूल्य बढाउनुपर्ने उनले जिकिर गरे । सबैले शेयरिङ गरेर केवल तार तान्नेको खण्डमा अहिलेको कस्ट भन्दा पनि सस्तो पर्ने उनले बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ आश्विन २०७८, मंगलबार  १९ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।