
दसैँमा घर जानेहरुका लागि सरकारले असोज ११ गते (सोमबार) देखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । लामो दूरीका सवारी साधनमा लागू हुने गरी सरकारले अग्रिम टिकट बुकिङ खुला गरेको हो ।
यातायात व्यवस्था विभागले यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो । उक्त निर्णयसँगै तोकिएको मितिदेखि यात्रुहरुले टिकट बुकिङ गर्न सक्नेछन् ।
दसैँमा लाखौँले काठमाडौँ उपत्यका छोड्छन् । दसैँ नजिकिएसँगै काठमाडौं उपत्यका छोड्ने क्रम सुरु भइसकेको छ । विद्यार्थी, मजदूर, व्यापार व्यवसाय गर्दै आएका व्यक्तिहरु राजधानी छोडेर गाउँ फर्किने थाल्ने क्रम बढेको हो ।
सरकारले गत असार २९ गते सार्वजनिक सवारीको भाडा समायोजन गरेको थियो । जसअन्तर्गत यात्रुवाहक सवारीको भाडा २८ प्रतिशतले बढाइएको थियो ।
यस्तो छ यातायात व्यवस्था विभागले तोकेको भाडादर
विभागले काठमाडौँदेखि नेपालगञ्जसम्मको नयाँ भाडादर १ हजार २८६ रुपैयाँ कायम गरेको छ । काठमाडौँदेखि ५३१ किलो मिटर रहेको नेपालगञ्ज पुग्नका लागि साविकको भाडा १ हजार २५ रुपैयाँ छ ।
काठमाडौदेखि पोखराको लागि १ सय ९ रुपैयाँ भाडा बढाएको छ । विभागले साविकको भाडा ४ सय २८ रुपैयाँबाट ५ सय ३७ रुपैयाँ कायम गरेको हो ।
यस्तै, विभागले काठमाडौँदेखि भद्रपुरका लागि १ हजार १७२ रुपैयाँबाट १ हजार ४७० रुपैयाँ, काठमाडौँदेखि भैरहवाका लागि ५ सय ६१ रुपैयाँबाट ७ सय ४, काठमाडौँदेखि महेन्द्रनगरका लागि १ हजार ३३२ रुपैयाँबाट १ हजार ६७१ रुपैयाँ, काठमाडौँदेखि विरगंजका लागि ५ सय ४० रुपैयाँबाट ६ सय ७८ रुपैयाँ भाडादर कायम गरेको छ ।
विभागले तराईको लामो दुरी २५० (किलोमिटर भन्दा बढी) पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुबाहक बस, मिनिबसको लागि प्रति किलो मिटर प्रति व्यक्ति २ रुपैयाँ ४३ पैसा कायम गरेको छ ।
२५ किलोमिटरदेखि २५० किलोमटिटरसम्म दूरीका पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रु बाहक बस, मिनिबसको लागि प्रति किलोमिटर प्रति व्यक्ति २ रुपैयाँ ४९ पैसा र काठमाडौँ–पोखरा र पोखरा–नारायणघाट खण्डको लागि प्रति व्यक्ति प्रति मिलोमिटर २ रुपैयाँ ६७ पैसा कायम गरेको छ ।
भाडादरको पूरा सूची हेर्नका लागि यस लिङ्कमा क्लिक गर्नुहोस्
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया