
काठमाडौँ महानगरपालिकाले विगत २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट पञ्चेबाजासहित टोलटोलमा पुगेर ६ करोड रुपैयाँ बक्यौता असुल गरेको छ ।
लामो समयसम्म कर नतिरेका ठूला करदातालाई कामपाले पटक पटक सार्वजनिक सूचना जारी गरेपछि सम्पर्कमा आएर कर तिर्न थालेका हुन् । यसअघि कमपाले गत असार १६ गते र साउनको अन्तिम साता गरी कर नतिर्ने ७२ ठूला करदाताको नाम सार्वजनिक गरी ३० दिनभित्र सम्पर्क गर्न आग्रह गरेको थियो ।
काठमाडौँ महानगरपालिकाले विगत २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट असुल गर्न पञ्चेबाजासहित टोलटोलमा पुगेको थियो । बक्यौता रकम असुल गर्न महानगरले पटकपटक सार्वजनिक सूचना जारी गर्दासमेत सम्बन्ध भएका निकाय सम्पर्कमा नआउँदा यस किसिमको अभ्यास थालेको हो । कामपा पञ्चेबाजासहित कर असुलसम्बन्धी लोक तथा दोहोरी गीत बजाएर घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातासमक्ष पुगेको थियो ।
महानगरले सार्वजनिक सूचना, आवश्यकताका आधारमा निवेदन, फोनमार्फत पटक–पटक जानकारी गरेपछि उनीहरु अहिले सम्पर्कमा आउन र कर तिर्न थालेका हुन् । कामपा राजस्व महाशखा प्रमुख डा. शिवराज अधिकारीले भने, “पछिल्लो समय कर तिर्ने बढेका छन्, अहिलेससम्ममा ६ करोड असुल भएको छ, तत्काल ३० करोड उठ्ने तयारीमा छ ।” उनका अनुसार अझै पनि धेरैले अटेर गर्दै आएका छन् ।
दुई चरणमा गरिएको सार्वजनिक सूचनाको धेरैले बेवास्ता गरी सम्पर्कमा पनि नआउने र विवरणसम्म पेश नगरेकाले उनीहरुका लागि थप कडाइ गरिने छ । आफ्नो विवरण लिएर सम्पर्कमा आए नियमानुसार महानगरबाट दिइने कर छुट सुविधा प्राप्त गर्न सकिने र अझै आलटाल गरिरहे थप समस्या हुने जनाउँदै इमान्दार भएर कर तिर्न निजी र अर्धसरकारी सङ्घसंस्थालाई अनुरोध गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरण, सिद्धार्थ वनस्थली स्कुल र मनमोहन अस्पतालले केही दिनभित्रै बक्यौता रकम लिएर आउने भएका पनि कामपाले जानकारी दिएको छ ।
यसरी लामो समयसम्म कर नतिर्नेमा नेपाल स्काउट, राष्ट्रिय नाचघर, चेम्बर भवन, कर्मचारी सञ्चयकोष भवन, नेपाल रेडक्रस सोसाइटी, नेशनल ट्रेडिङ लिमिटेड, जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, कान्तिपुर होटल, शिशु अर्याल, होटल ग्याङ्जोङ (हाल ले हिमालय), सिटी होटल्स, शुभकामना हाउजिङ डेभलर्पस प्रालि छन् ।
यसैगरी ओम सान इन्टरनेशनल कलेज (हेल्पिङ ह्यान्ड्स), गोपीकृष्ण मुभिज प्रालि, झिग्मी सिग्मी पर्वल विष्ट, काठमाडौँ जेसिस, सिग्नेचर अपार्टमेन्ट, अम्बे कम्प्लेक्स, टाउन डेभलपर्स प्रालि, राजेन्द्रकुमार काँवरा, ब्लुबर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, बुद्ध महल, सिटी सेन्टर, ह्वाइट फिल स्कुल र केएल टावरलगायतले लामो समयदेखिको कर तिर्न बाँकी छ । माथि उल्लेख भएकामध्ये धेरै अहिले आफ्नो विवरण लिएर सम्पर्कमा आएको कामपाको भनाइ छ ।
कामपाले चालु आवको दुई महिनामा ९० करोड कर असुल गरेको छ । गत वर्ष सोही अवधिमा र ३२ करोड मात्र उडाएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया