साहस उर्जाको आईपीओ आइतबार बाँडफाँड हुने, प्रि अलटमेन्ट सम्पन्न

0
Shares

साहस उर्जा लिमिटेडको प्राथमिक शेयर (आईपीओ) असोज १७ गते आइतबार बाँडफाँड हुने भएको छ ।

कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयरको शुक्रबार प्रि-अलटमेन्ट सम्पन्न गरे बाँडफाँडका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीको आईपीओको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार बोर्डबाट स्वीकृतिपछि असोज १७ गते आइतबार बिहान बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाटमा आईपीओ बाँडफाँड हुनेछ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका२०७४ बमोजिम कम्पनीको आईपीओ शेयर गोलाप्रथाबाट ६ लाख ४४ हजार जना आवेदकले १० कित्ताका दरले पाउनेछन् ।

आईपीओमा अन्तिम दिनसम्ममा २४ लाख ६२ हजार बढी आवेदन परेको छ । सो संख्याको आवेदनबाट ३ करोड ४३ लाख कित्ता अर्थात सर्वसाधारणहरूबाट माग भएको ५।६२ गुणा धेरै आवेदन परेको छ ।

कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरु र ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर ६४ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणहरूबाट आवेदन संकलन गरिएको थियो ।

कम्पनीले निष्काशन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। स्थानियलाई ३५ करोड रुपैयाँ र सर्वसाधारणलाई ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ३ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

प्रतिमेगावाट लागत १३ करोड ७९ लाख

कम्पनीले हाल सोलुखुम्बु जिल्लाका सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिकामा कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ७९ लाख हुने विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी तीन अर्ब पचास करोडको प्रतिशेयर एक सय अङ्कित दरले हुने तीन करोड पचास लाख कित्ता शेयरमध्ये ३० प्रतिशत अर्थात् एक करोड पाँच लाख कित्ता सार्वजनिक निष्काशनका निमित्त छुट्याएको थियो । सो अनुसार प्रतिशेयर एक सय अङ्कित मूल्यको ३५ लाख कित्ता साधारण शेयर गत साउन २९ देखि भदौ २७ सम्म आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुका बासिन्दाका लागि निष्काशन गरिएको थियो जसको बाँडफाँड समेत भइसकेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ आश्विन २०७८, शुक्रबार  १४ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।