उवा महासंघ अध्यक्ष गोल्छा र राजदूत सलाहुद्दिन भेटवार्ता: नेपाल र बंगलादेश बीचको आर्थिक सम्बन्धलाई थप सुदृढ पार्नुपर्नेमा जोड

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल लागि बंगलादेशका राजदुत सलाहुद्दिन नोमन चौधरी बीच महासंघ सचिवालयमा भेटवार्ता भएको छ ।

भौगोलिक दूरीका हिसाबले जम्मा २७ किलोमिटर टाढा रहेको दुई मुलुकको व्यापरिक सम्बन्ध आशातित रुपमा बलियो हुन नसकेको विषयमा छलफल गर्दै आगामी दिनमा यसलाई सुदृढ बनाउन दुबै पक्ष प्रतिबद्ध रहेको सो अवसरमा बताइयो ।

नेपालको कुल व्यापारमा दक्षिण एशियामा बंगलादेश दोस्रो ठूलो व्यापार साझेदार रहेको तथ्यांकले देखाउँछ । तर पनि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार पछिल्लो आर्थिक वर्षमा नेपालले जम्मा ५.७ मिलियन डलर बराबर निर्यात र बंगलादेशबाट ९०.६ मिलियन डलर बराबरको आयात गरेको थियो । यसरी हेर्दा दुबै मुलुक बीचको द्विपक्षीय व्यापारमा ठूलो व्यापार घाटा नेपालले व्यहोर्दै आएको छ ।

नेपालले हाल मुसुर दाल, खाद्य प्रिपरेशन, गहुंको चोकर, रंगरोगनका सामग्री, वनस्पति तथा वनस्पतिजन्य वस्तुहरु लगायतका सामग्रीहरु निर्यात गर्दै आएको छ भने जुट, औषधि, विद्धुतीय सामानहरु आयात गर्दछ । २०७८ असारसम्म नेपालमा कृषि तथा वनमा आधारित, उर्जा, आईटी, उत्पादनमुलक, खानी, सेवा र पर्यटन क्षेत्रमा गरी ७४ वटा संयुक्त लगानीका परियोजनाहरू रहेका छन् । व्यापार घाटा कम गर्न तथा आपसी आर्थिक सम्बन्धलाई थप विस्तार गर्न उर्जा, पर्यटन जस्ता क्षेत्रहरूमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा उनीहरूको जोड थियो ।

सो अवसरमा राजदूत सलाहुद्दिन नोमन चौधरीको महासंघ सचिवालयमा स्वागत गर्दै महासंघका अध्यक्ष गोल्छाले बंगलादेश कम विकसित मुलुकबाट स्तरोन्नतिको प्रकृयामा रहेकोले सो सम्बन्धी अनुभव नेपालको लागि उपयोगी हुुने बताए ।

बंगलादेशले छोटो समयमा गरेको आर्थिक विकासको अध्ययन गर्न नेपाली व्यवसायीहरुको टोली स्थलमार्गबाटै भ्रमण गर्ने योजना रहेको बताउंदै अध्यक्ष गोल्छाले बंगलादेशसंग आर्थिक सम्बन्ध मजवुद वनाउन नेपाली निजी क्षेत्र लालायित रहेकाले आर्थिक कुटनीति मार्फत सहयोग गर्न आग्रह गरे । साथै उनले व्यापार घाटालाई कम गर्न नेपालबाट उर्जा निर्यात बलियो स्रोत हुने बताए ।

भेटमा राजदुतले द्वीपक्षीय व्यापार बढ्न नसकेकोले यसलाई गम्भीरता पुर्वक लिई सम्भावनाका पाटाहरु खोज्नुपर्ने बताए । उनले द्वीपक्षीय लगानी सम्झौता हुनुपर्नेमा जोड दिए । स्थलमार्गका साथसाथै हवाई मार्गबाट पनि नेपालको विराटनगर विमानस्थल र बंगलादेशको विमानस्थल बीच सिधा हवाइसेवा सञ्चालन गर्न सकिने सम्भावना औंल्याइयो । साथै उनले आफ्नोेतर्फबाट आपसी आर्थिक सम्बन्ध विस्तारका हरेक प्रयास र दुबै देशका निजी क्षेत्र बीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा राजदूतावासको सदैव सहयोग रहने विश्वास दिलाए ।

भेटवार्तामा महासंघका उपाध्यक्षद्वय अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई तथा कार्यकारिणी समिति सदस्य एवं व्यापार समिति सभापति विजयसिंह वैधको उपस्थिति थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ आश्विन २०७८, शुक्रबार  १८ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।