यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन् ।
आवाज एवं धुँवारहित चिनियाँ विद्युतीय सेतो रङका कार तीन दिनको अन्तरालमा १०० नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।
रसुवागढी नाकाबाट आयात भएका ती सवारी साधन नियमानुसार भन्सार प्रक्रिया पूरा गरी क्रमिक रूपले काठमाडौँ लैजाने कार्य अगाडि बढिरहेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए ।
आयात भएका कारमा पाँच जनासम्मको यात्रा सहज हुने बताइएको छ । कारबाट भन्सार शुल्क बापत १० करोड ९८ लाखभन्दा बढी रकम राजस्व असुली भएको छ । धुँवा तथा आवाज रहित भएका कारण नयाँ आयात भएका चिनियाँ कारले सवारी प्रदूषणमा न्यूनीकरण गर्ने र यात्रामा समेत सहज पार्ने जनाइएको छ ।
रसुवागढी नाकाबाट हालसम्म आयात भएका अन्य सवारी साधनमध्ये पछिल्लो समय नेपाल भित्रिएका ती कार नयाँ मोडलका देखिएको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए । डिजेल पेट्रोल जस्ता इन्धनबाट चल्ने अन्य सवारी साधनभन्दा चिनियाँ विद्युतीय कार गुडाउन अत्यन्तै सहज हुने बताइएको छ ।
गत आर्थिक वर्षदेखि हालसम्म करिब ८०० साना ठूला सवारी साधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको भन्सार अधिकारीले बताए। ठूलो सङ्ख्यामा लामबद्ध रूपले सेतो रङका चिनियाँ कार गुड्दा शुक्रबार राजमार्गमा निकै आर्कषण बढेको थियो ।
सबै खाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारी खुसी
मुलुककै ठूलो नाकामध्येको एक पर्साअन्तर्गत वीरगञ्जको रक्सौल नाकाबाट सबै खाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारीमा खुसी छाएको छ ।
कोभिड–१९ को असहज स्थितिका कारण अत्यावश्यक बाहेक अन्य भारतीय सवारी साधनले लामो समयदेखि नेपाल प्रवेश पाएका थिएनन् । यही असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको भारतीय सवारी साधनले प्रवेश पाउने निर्णय कार्यान्वयनमा आएसँगै व्यापारीमा खुसी छाएको हो ।
भारतीय सबै खाले सवारी साधनले नेपाल प्रवेश पाएपछि नेपाल र भारत दुवै देशमा व्यवसाय क्षेत्र फस्टाउनेमा आशा पलाएको उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निर्वतमान अध्यक्ष गोपाल केडियाले जानकारी दिए । कोभिड–१९ का कारण लामो समयदेखि नेपाल र भारत दुवै देशमा व्यावसायिक कारोबार प्रभावित बनेका थिए ।
रक्सौल नाकाबाट भारतीय निजी सवारी साधनले नेपालमा आवागमन पाएपछि दुवै देशका व्यवसायी थप उत्साही बनेको होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साका अध्यक्ष हरि पन्तले बताए । सवारी साधन आवतजावतले दुई देशबीचको सम्बन्ध थप बलियो बन्दै जाने वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया