करिब २०% ले घटेपछि नेप्सेमा बढोत्तरी, ४१ अंकले सूचक बढ्दा कारोबार रकम किन खुम्चियो ?

0
Shares

शेयर बजार सूचक मापक नेप्से उच्चतम बिन्दुबाट करिब २० प्रतिशतले घटेपछि मंगलबार १.६३ प्रतिशत अर्थात ४१.८४ अंकले बढेको छ ।
नेप्से बढेर गत भदौ २ गते बुधबार ३ हजार १९८ अंकसम्म बढेकोमा असोज १८ गते सोमबारसम्म सोमबार आइपुग्दा ६२८ अंक अर्थात १९.६४ प्रतिशतले घटेर २५७०.८१ बिन्दुमा झरेको थियो ।

सोमबार निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले विज्ञप्ती निकालेर विभिन्न नीतिगत परिवर्तनको कारण शेयर बजारमा असर परेको भन्दै उक्त नीतिगत व्यवस्थाहरुको तत्काल संशोधन एवं परिमार्जन गर्नुपर्ने सम्बन्धित व्यवसायीहरुको माग रहेको छ ।

महासंघले पूँजी बजार सम्बन्धी नीति नियम बनाउँदा सरोकारवालाहरुसँग पनि छलफल र विमर्श गर्न तथा बजार व्यवस्थित बनाउन आवश्यक अन्य नीतिगत व्यवस्था, पर्याप्त सूचना प्रवाह हुने संयन्त्रको निर्माण, प्रविधिको उच्चतम प्रयोग र नयाँ लगानीका साधन एवं उपकरण बढाउन सुझाव दिएको थियो ।

पूँजी बजारका सम्बन्धमा बल्ल बोल्यो एफएनसीसीआई, लगानीकर्ता भन्छन् “एफएनसीसीसीआई पनि छ” ?

 

लामो समयसम्म चुप रहेको नेपाल इन्भेष्टर्स फोरमले पनि सोमबारै निरन्तर रुपमा घटिरहेको पूँजीबजार र त्यसले आम लगानीकर्ताहरूमा पर्न गएको आर्थिक तथा मनोवैज्ञानिक असर प्रति सरकार मौन रहेको भन्दै गम्भिर ध्यानकर्षण भएको भन्दै विज्ञप्ती जारी गरेको थियो ।

सरकारको नीतिले ४४ लाख लगानीकर्ता मर्माहत : इन्भेष्टर्स फोरम

सूचनाको खास महत्व राख्ने बजार शेयर बजारमा स सना घटनाले पनि लगानीकर्ताको मनोबलमा ठूलो असर पुग्ने गरेको छ । सोमबार उद्योग वाणिज्य महास्ंघले पूँजी बजारको समस्या समाधान गर्न आग्रह गरेपछि मंगलबार चेम्बर अफ कमर्सले पनि पूँजीबजारको निरन्तरको गिरावटका लागि सम्बोधन गर्नुपर्न आवज उठाउँदै १६ सुझाव दिएको अवस्था छ । यसले पनि बजारमा लगानीकर्तालाई बजारमा फर्कन थप सहयोग पुगेको विश्लेषण गरिएको छ । अहिलेसम्म नबोलेका निजी क्षेत्रका दुई संस्थाले आवाज उठाएसँगै लगानीकर्ताले पनि आफ्नो माग पूरा गर्न सरकारलाई दबाब पुग्ने विश्वास गरेका छन् ।

चेम्बरको १६ बुँदे सुझाव: शेयर कर्जाको सीमा खारेजीदेखि नयाँ स्टक एक्सचेञ्ज स्थापनासम्म

निजी क्षेत्रको संगठित संस्थाहरु उवा महासंघ र चेम्बरलको सुझाव र निरन्तरको बजार घटाइले लाभांश सिजनको समयमा नै नेप्से घटेर सूचीकृत कम्पनीको मूल्य तल्लो बिन्दुमा आएपछि मंगलबार बजारमा खरीदकर्ता हाबी भएका छन् । बजारमा खरीद चाप उच्चरहेपनि बजार बढ्ने संकेतले लगानीकर्ताले आफ्नो शेयर सस्तो मूल्यमा बिक्री गर्न नचाहँदा कारोबार रकम भने घटेको छ ।

सोमबार ३ अर्ब ६२ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएकोमा मंगलबार कारोबार ६३ करोड ९ लाख रुपैयाँले घटेर २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ रुपैयाँको शेयर खरीद बिक्री भएको छ । मंगलबार २२३ कम्पनीको ५८ लाख ४२ हजार १३५ कित्ता शेयर ४१ हजार ५१ व्टा संख्यामा खरीद बिक्री भएका हुन् ।

यसदिन कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये व्यापार बाहेक सबै सूचक बढेका छन् । फाइनान्स सूचक सर्वाधिक ४.१६ प्रतिशतले बढ्दा विकास बैंक ३.१२ प्रतिशतले बढेको छ । लघुवित्त २.७५, निर्जीवन बीमा २.३४, जलविद्युत २.२९, जीवन बीमा २.१५, उत्पादन तथा प्रशोधन १.७५, होटल १.२२, लगानी १.०७, बैंकिङ्ग १.०२, म्युचुअल फण्ड ०.८८ र अन्य ०.६४ प्रतिशतले बढेका छन् । ब्यापार सूचक १.८४ प्रतिशतले घटेको छ ।

सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयरको सर्वाधिक कारोबार

मंगलबार सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयरको सर्वाधिक १३.६६ करोडको कारोबार भएको छ भने मेरो माइक्रोफाइनान्सको ११.८६ करोडको कारोबार भएको छ ।

हिमालयन डिष्टिलरी, सिटिजन्स बैंक, रिडी हाइड्रोपावर, नबिल बैंक, सानिमा बैंक, नेपाल पुनर्बीमा कम्पनी, अपि पावर र नेपाल बैंकको उच्च कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको नेपाल बैंकको ५.२३ करोडको शेयर कारोबारमा आएको छ ।

सात कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

मंगलबार नेप्से बढेसँगै सात कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेर मूल्य बढेको छ । यसदिन हिमालयन पावर पार्टनर, मल्टिपपर्स फाइनान्स, समता लघुवित्तको मूल्य दश प्रतिशतले बढ्दा मैलुङ्ग खोला जलविद्युत, ९.९७ प्रतिशत, सिभिल लघुवित्त ९.९४, छ्याङ्दी हाइड्रोपावर ९.८९ प्रतिशत र जनउत्थान लघुवित्तको मूल्य ९.८४ प्रतिशतले बढेको छ ।

यसैगरी सिंगटी हाइड्रोपावरको शेयरमा लगानी गरेका लगानीकर्ताले ७.९४ प्रतिशत, माउन्टेन हाइड्रो नेपालको लगानीकर्ताले ७.७६ प्रतिशत र समीट लघुवित्तका शेयर लगानीकर्ताले मंगलबारको बजारबाट७.६९ प्रतिशतका दरले नाफा कमाएका छन् ।

एनआईसी एशिया लघुवित्तको मूल्यमा नकारात्मक सर्किट

नेप्से बढेपनि लगानीकर्ताको अपेक्षाभन्दा निकै कम लाभांश प्रस्तावपछि एनआईसी एशिया लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लागेको छ । गत आवको नाफाबाट लघुवित्तले खुद नाफाको १६ प्रतिशत मात्र लाभांश वितरण गरेपछि कम्पनीका लगानीकर्ताले शेयर बिक्री गरेका हुन् ।

एनआईसी एशिया लघुवित्तको साढे पाँचभन्दा कम लाभांश प्रस्तावपछि शेयरमूल्य १२७ रुपैयाँले घट्यो

 

एनआईसी एशिया लघुवित्तले घोषणा गर्यो लगानीकर्तालाई निराश तुल्याउने लाभांश

आव २०७७/७८ मा ५६ करोड कमाएको लघुवित्तले ९ करोड ४१ लख मात्र अर्थात चुक्ता पूँजीको ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । लघुवित्तको मूल्य १२६.० रुपैयाँले घटेर११४२.१० रुपैयाँमा झरेको हो ।

यसैगरी आजै पाँच प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको रिलायन्स लाइफको शेयरमूल्य पनि ३.३२ प्रतिशतले घटेको छ । माउन्टेन इनर्जी नेपाल, साल्ट ट्रेडिङ्ग कर्पोरेशन, रिडी हाइड्रोपावर, सिटिजन्स म्युचुअल फण्ड २, एनआईबिएल समृद्धि फण्ड १ को इकाईका लगानीकर्ताले पनि मंगलबारको बजारबाट गुमाएका छन् ।

नयाँ जीवन बीमा कम्पनीहरुले बाँड्न थाले लाभांश, रिलायन्स लाइफ पहिलो

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ आश्विन २०७८, मंगलबार  १६ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।